सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कृत बालिकाको न्यायमा पहुँच पुर्‍याउन इन्सेकद्वारा आर्थिक सहयोग 

२०७९ असार २९, ०५:३२ खबर संवाददाता

दार्चुला: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाले पीडितको न्यायमा पहुँच पुर्‍याउन यौनहिंसा पीडित बालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। यौनहिंसामा परेपछि समस्यामा परेका १५ वर्षीया बालिका अदालत र अस्पताल आउँजाउ गर्न समस्या भएको भन्दै इन्सेकलाई सहयोगको लागि निवेदन दिएपछि आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। पीडित बालिकाले गत असार ४ गते सहयोगको लागि निवेदन दिएकी थिइन्। 

इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले बुधबार सदरमुकाम खलंगामै पीडित बालिकालाई १० हजार रुपैयाँ नगदै हस्तान्तरण गरेका छन्। डिसिए कार्यक्रम अन्तर्गत पीडत बालिकालाई न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा पत्रकारहरुको सहभागिता थियो।

पीडित बालिकालले आफुमाथि बलात्कार गरेर गर्भवती बनाएको भन्दै ०७८ फागुन २ गते जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणी अन्तर्गत उजुरी दिएकी थिइन्। प्रहरीले पीडितको उजुरीको आधारमा मालिकार्जुन गाउँपालिका ८ का १३ वर्षीय बालक र २४ वर्षीय किरनसिह धामीलाई गिरफ्तार गरि जबरजस्तीकरणी अन्तर्गत मुद्धा दर्ता गरेको छ। 

जिल्ला अदालतले फागुन २० गते आरोपित बालकलाई सुधार गृह र किरनलाई पूर्पक्षका लागि लागि थुनामा राख्ने आदेश दिएको थियो। मुद्धाको फैसला हुन बाँकी छ। पीडितले अझै पनि आफुले न्याय पाउदैन कि भन्ने चिन्ताले सताएको बताएको छ। आर्थिक सहयोग रकम बुझ्दै पीडितका बुवाले भने, ‘एक जना आरोपित छुटेर घर पुगेका छन्। अर्कोलाई के गर्ने हुन्। मेरो छोरीले न्याय पाउनुपर्छ।’ 

उनले आफु छोरीले न्याय नपाएसम्म निरन्तर कानुनी लडाई लड्ने भन्दै इन्सेकलाई आगामी दिनमा सहयोगको लागि आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस