सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट पास गराउन सांसद फकाउँदै मुख्यमन्त्री भट्ट

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असार २८, ०२:४५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट बजेट पास गराउन आफैं सक्रिय बनेका छन्। सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित गराउन उनी आफै खटिएका हुन्।

असार मसान्तमा बजेट पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ। तर, सुदूरपश्चिममा भने अहिलेसम्म बजेटमाथिको छलफल समेत सुरु हुन सकेको छैन। सत्तारुढ दलकै सांसदहरुले बजेटको विरोध गर्नेदेखि प्रदेशसभा बैठक बहिस्कार गर्न थालेपछि बजेट पारित गर्न सरकारलाई सकस परेको हो।

सरकारलाई सकस परेपछि मुख्यमन्त्री आफै बजेट पास गराउन भूमिका खेल्न थालेको बताइएको छ। मुख्यमन्त्री भट्टले आज (मंगलबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा असन्तुष्ट सत्तापक्षका सांसदलाई बोलाएर छलफल गरेका छन्। स्रोतका अनुसार मुख्यमन्त्री भट्टले बजेटको निरन्तर विरोधमा उत्रिएका सांसदलाई फकाउँदै बजेट पारित गर्न  सहयोगको आग्रह गरेका छन्।

यसअघि उनले आफू सम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक नै बोलाएर आफ्ना सांसदहरुलाई बजेको पक्षमा उभिनु निर्देशन समेत दिएका थिए।

अहिले सत्ता पक्षसहित प्रतिपक्षी दलका सांसदहरु सरकारको बजेटप्रति सन्तुष्ट छैनन्। सरकारमा सहभागी एकीकृत समाजवादी र नेपाली कांग्रेसको संसदीय दलले अहिलेसम्म ठोस निर्णय गर्न सकेका छैनन्। उनीहरु संसोधन नहुँदासम्म यथास्थितिमा बजेट पास गर्न नदिने अडान कायम राखेका छन्। बहालवाला मन्त्री र मन्त्रीको आश्वासन पाएकाहरू बाहेक अन्य बजेटमा विरोधमा छन्।

कमेन्ट लोड गर्नुस