पूर्व प्रधानमन्त्रीमाथि गोली हान्ने पक्राउ
धनगढीः गोली प्रहारपछि अचेत अवस्थामा रहेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको विश्वभरबाट स्वास्थ्य लाभको कामना भइरहेको छ। गोली लागेर अचेत अवस्थामा अस्पतालमा रहेका उनलाई अमेरिका,बेलायत,भारत, रुसलगायत विभिन्न मित्रराष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुले स्वास्थ्यलाभको सन्देश पठाएका छन्।
जापानमा पर्सि हुन लागेको संसदको माथिल्लो सभाको चुनावी अभियानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि आज गोली प्रहार भएको थियो। ६७ वर्षे आबे जापानमा हालसम्म सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेता पनि हुन्। उनी सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्म गरी नौ वर्षभन्दा लामो समय प्रधानमन्त्री भएका थिए । सन् २०२० मा स्वास्थ्यमा समस्या देखिएपछि उनले प्रधानमन्त्री पद छाडेका हुन्।
यसैबीच आबेलाई गोली हान्ने ४१ वर्षे पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। जापानमा गोली प्रहारका घटना बिरलै हुन्छ। यस्तो अवस्थामा पूर्वप्रधानमन्त्रीमाथि नै आक्रमण भएको घटनालाई निकै गम्भीरताका साथ लिइएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन्।