रुसले चीन र भारतलाई बेच्यो २४ अर्ब डलरको इन्धन
एजेन्सी: रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछिका तीन महिना चीन र भारतलाई मात्र २४ अर्ब डलरको तेल बेचेको पछिल्लो भन्सार तथ्यांकले देखाएको छ। सोही युद्धको कारण तेलको मुल्य बढेकाले पश्चिमी प्रतिबन्धको बावजुद रुसको आय नघटेको पाइएको छ।
युक्रेनमा युद्ध सुरु भएपछि तीन महिनामा चीनले रुसी तेल, ग्यास र कोइलामा १८.९ अर्ब डलर खर्चियो। उता भारतले यस अवधिमा ५.१ अर्ब डलरको रुसी खनिज इन्धन भित्र्यायो, जुन अघिल्लो वर्षको भन्दा पाँच गुणा बढि हो। चीन र भारतले रुसबाट सन् २०२१ मा सोही अवधिको भन्दा १३ अर्ब डलर बढि रकमको खनिज इन्धन खरिद गरेका छन्।
चीन र भारतले रुसी इन्धन खरिद वृद्धि गर्दा अमेरिका लगायत अन्य पश्चिमी देशले उबाट इन्धन खरिद रोक्कालाई भरपाई गर्न सघाउ पुगेको छ। अमेरिका लगायत पश्चिमी मुलुकले रुसी तेलमाथि प्रतिबन्ध लगाएपछि अन्य वैकल्पिक आपूर्तिको मुल्य बढ्दा ती मुलुकको अर्थतन्त्र आर्थिक मन्दीको जोखिममा परेका छन्।
युरोपले रुसी इन्धन खरिद घटाउँदै लगेको भए पनि हालसम्म उसले चीन र भारतले भन्दा बढि परिणामको इन्धन खरिद गरिरहेको छ। रुसले चीन र भारतसँग दीर्घकालिन रणनीतिक तथा व्यापरिक सम्बन्ध छ। उसले यी मुलुकले किन्ने इन्धनको परिणाम बढाउनका लागि भारी छुट दिनदेखि ती देशका मुद्रामा भुक्तानी स्वीकार्ने जस्ता सहुलियत दिइरहेको छ। छुटले इन्धनको विक्री परिणाम ह्वात्तै बढेकाले रुसलाई फाईदा नै भईरहेको छ।