धनगढीको देवरिया उद्यान क्षेत्रमा महिलाहरुलाई संरक्षणमा रोक
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ७ मा रहेको देवरिया वनस्पति उद्यान क्षेत्रमा स्थानीय महिलाहरुलाई संरक्षणमा रोक लगाईएको छ । विगत १३ बर्षदेखि उद्यान क्षेत्रको संरक्षण गर्दै आएका महिला समुहलाई संरक्षणमा जिल्ला वनस्पति कार्यालयले रोक लगाएको हो । वन क्षेत्रको विनाश हुन लागेको भन्दै वन जोगाउन र पर्यावरणलाई बचाई राख्न वडा नम्बर ७ का स्थानीय महिलाहरुले विगत १३ वर्षदेखि वनस्पति कार्यालयको सहमतिमा उद्यान क्षेत्रको संरक्षण गरेर उपभोग गर्दै आएका थिए । तर अहिले आफुहरुलाई संरक्षण र उपभोगमा रोक लगाईएको स्थानीय महिलाहरुको आरोप रहेको छ । महिलाहरुलाई संरक्षणमा रोक लगाईएपछि अहिले काठ तस्करी पनि बढेको छ ।
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ७ का महिलाहरु विगत १३ वर्षदेखि जाखौर ताल क्षेत्रमा रहेको वन र तालको संरक्षण गरेर उपभोग पनि गर्दै आएका थिए । वनस्पति कार्यालयसंगको सहमति अनुसार स्थानीय महिलाहरु ताल र वन संरक्षणमा सक्रिय रहेका थिए । तर अहिले आएर संरक्षण र उपभोगमा रोक लगाईएको छ । वन संरक्षण गरेर पर्यावरणलाई फाईदा पुगेको थियो भने ताल क्षेत्रमा माछा पालन गरेर महिलाहरुले आयआर्जन पनि गर्दै आएका थिए । तर अहिले रोक लगाएपछि पर्यावरण संरक्षण हुन नसकेको र आफुहरुको आम्दानी पनि गुमेको स्थानीय महिला अनिता रावलले बताईन् ।
२०६२ सालदेखि संरक्षणमा लागेका वडा नम्बर ७ का स्थानीय महिलाहरुले २०६३ सालमा सिर्जना महिला सामुदायिक वन उपभोक्ता समिति दर्ता गर्दै ताल र वन क्षेत्रको संगक्षण गर्दै आएका थिए । ४ दशमलव ७२ हेक्टर क्षेत्रफलमा फैलिएकोे वन क्षेत्रमा झरेका साना दाउरा, सेउला, भुईघाँस लगायत उपभोग गर्न पाउने, ताल क्षेत्रमा माछापालन गर्न पाउने र वनस्पति उद्यानको संरक्षण गर्नुपर्ने सहमति सिर्जना महिला सामुदायिक वन उपभोक्ता समिति र वनस्पति कार्यालयसंग भएको थियो । आफुले वन क्षेत्रको विनाश हुनबाट जोगाएको र वनस्पति उद्यानको पनि संरक्षण गर्दै आएको भएपनि अहिले आएर वनस्पती कार्यालयले वन क्षेत्रमा प्रवेश गर्न समेत नदिएको सिर्जना महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सरस्वती देवी चन्दले आरोप लगाईन् ।
सिर्जना महिला सामुदायिक वन उपभोक्ता समितिका महिलाहरुले वन क्षेत्रमा काठ तस्करी हुनबाट समेत बचाएको दावी गरेका छन । आफुहरुलाई संरक्षणबाट रोक लगाएपछि काठ तस्करी पनि मौलाएको स्थानीय महिला रुमीला चौधरीले बताईन् । यता वनस्पति कार्यालय कैलालीका कार्यालय प्रमुख लक्ष्मण झाले भने माछापालनले समस्या ल्याउने भएकोले रोक लगाईएको बताए ।