सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसद झपट रावलद्धारा २ लाख २५ हजारमा जग्गा खरिद, एक लाख राजश्व छली

२०७५ फाल्गुन ९, ०७:५२ जनक विष्ट

कैलालीको लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधिको मिलोमतोमा जग्गा खरिद विक्री भईरहेको आरोप लागेको छ। आर्थिक अनियमितता गर्दै नगर क्षेत्रमा जग्गा खरिद विक्री भईरहेको आरोप लागेको हो। नेकपाको तर्फबाट प्रतिनिधीसभा सदस्य रहेका झपट बहादुर रावलले लम्कीचुहा नगरपालिका वडा नम्बर ४ को बलियामा खरिद गरेको तीन कठ्ठा जग्गामा पनि आर्थिक अनियमितता भएको ठहर गरिएको छ।रावलले लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधिको मिलोमतोमा जग्गा खरिदमा आर्थिक अनियमितता गरी राजश्व छली देखिएको हो।

रावलले स्थानीय चुडामणी भण्डारी मार्फत लम्की चुहा नगरपालिका–४ बलियामा रहेको यमबहादुर पोखरेलको तीन कठ्ठा जग्गा खरिदमा आर्थिक अनियमितता गर्दै राजश्व छली गरेका छन्। १५ वर्षदेखि चलन चल्तीको बाटो रहेपनि वडा कार्यालयबाट घर बाटो नभएको सिफारिस बनाउदै  प्रति कठ्ठा ७५ हजारका दरले २ लाख २५ हजारमा तीन कठ्ठा जग्गा खरिद गर्दै उनले झण्डै एक लाख राजश्व छली गरेको आरोप लागेको छ।  रावलले जग्गाधनी पोखरेलले लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईबाट लिएको कित्ता नम्बर १७३४ र १७३८ को तीन कठ्ठा जग्गा गत बैशाख २ गते आफ्नो नाममा दर्ता गरी मालपोत कार्यालय टीकापुरबाट पास गरेका छन्। त्यस वापत उनले नौ हजार राजस्व सरकारलाई तिरेका छन्।

 

१५ वर्षदेखि चलनचल्ती र दुई वर्ष अघि ग्रावेल गरिएको कुरा थाहा हुदाहुदै नक्सामा बाटो कायम नभएको देखाउदै लम्की चुहा नगरपालिकाका जनप्रतिनिधिको सिफारिसमा कम मूल्य तिर्दै जग्गा खरिद गरिएको हो। सिफारिसमा कार्यवहाक वडा अध्यक्ष ताराप्रसाद अधिकारी र लम्की चुहा नगरपालिकाका तत्कालीन अमिन रामकृष्ण शाहीको हस्ताक्षर छ। रावलले खरिद गरेको जग्गामा बाटो हुदाँ हुदै गलत सिफारिस किन गरिएको भन्ने जिज्ञासामा लम्की चुहा नगरपालिका ४ का सदस्य अधिकारीले आफू लेखपढ गर्न नआउने हुदा  कागजपत्रमा के लेखिएको थियो भन्ने विषयमा थाहा नभएको प्रतिक्रिया दिए। अमिन शाहीले नक्सामा घरबाटो कायम नभएकाले सिफारिस गरिएको तर बाटो कायम भएको बारेमा जानकारी भएको प्रतिक्रिया दिए। 

स्थानीयका अनुसार पूर्वपश्चिम राजमार्गदेखि तीन सय मिटरको दुरीमा मात्र रहेको सो प्लटमा १५ वर्षदेखि चलनचल्तीको बाटो थियो भने दुई वर्ष अघि मात्रै नगरपालिकाले नै सडक ग्रावेल गरेको थियो। तर लम्की चुहा नगरपालिकाले भने घर बाटो नभएको सिफारिस गरेको थियो। नापी कार्यालय टीकापुरका अनुसार सांसद रावलको नाममा जग्गा पास भईसकेपछि मात्र लम्की चुहा नगरपालिकाले सार्वजनिक बाटो कायमका लागि सिफारिस गरेको छ।

सोही सिफारिसका आधारमा चालु आर्थिक वर्षको साउन २४ गते मात्रै सार्वजनिक बाटो कायम गरिएको छ। जग्गा खरिद गर्दा सहयोगीको भुमिका खेलेका चुडामणी भण्डारीले १०/१५ वर्ष पहिलेदेखि नै बाटो कायम भएपनि नक्सामा नभएकाले त्यस्तो सिफारिस गरिएको बताए। यता सांसद रावलले जग्गा खरिद गरेपछि मात्र लगत कट्टा गरी सार्वजनिक बाटो कायम गर्नुको कारणबारे लम्की चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले त्यति बेला जग्गा व्यक्तीका नाम थियो वा सार्वजनिक थियो भन्ने विषयमा नै आफू जानकार नभएको बताए।

यता नेकपाका सांसद झपट बहादुर रावलले भने स्थानीय चुडामणी भण्डारी मार्फत नै आफूले जग्गा खरिद गरेका कारण अन्य बाटो भए/नभएको कुरा आफूलाई थाहा नभएको बताए। उनले भने,‘मैले तीन कठ्ठा जग्गा चुडामणी भण्डारीबाट लिएको थिए, अब बाटो के हो ? प्रक्रिया के हो ? त्यो अरु कुरा जानेन्।’ मालापोत कार्यालय टीकापुरका अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा अवादी जग्गाको प्रति बिघाको १५ लाख, कच्ची बाटोमा पर्ने जग्गा प्रति कठ्ठा ७ लाख, ग्रावेल बाटोमा पर्ने जग्गा प्रति कठ्ठा साढे ८ लाख र पक्की सडकमा पर्ने जग्गाको प्रति कठ्ठा नौ लाख सरकारी दररेट कायम गरिएको थियो।

 

तर लम्की चुहा नगरपालिकाले गलत सिफारिस गर्दा सांसद रावलले खरिद गरेको तीन कठ्ठा जग्गाबाट सरकारलाई नौ हजार मात्र राजश्व प्राप्त भयो भने यदि २ वर्ष अघि नै ग्रावेल बाटो कायम भएको सिफारिस गरिएको भए सरकारी दररेट अनुसार सो जग्गाको मूल्य साढे २५ लाख पर्ने थियो भने  त्यसबाट एक लाख दुई हजार राजस्व उठ्ने मालपोतका एक कर्मचारीले बताए। तर सांसद रावलले ग्रावेल बाटो भएको तर मालपोत कार्यालयमा घरबाटो नभएको सिफारिस पेश गर्दै साढे २५ लाख पर्ने तीन कठ्ठा जग्गा २ लाख २५ हजारको मुल्याङकन देखाउदै सोझै ९३ हजार राजश्व छली गरेको देखिएको छ। 

 

 
 
   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस