सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगंगामा भोलि मतदान, एक हजार बढी सुरक्षाकर्मी खटाइए

२०७९ असार २२, १०:२३ खबर संवाददाता

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित भएको स्थानीय तहको निर्वाचन भोलि बिहीबारलाई तय गरिएको छ।  गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो।

भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी जानकारी दिए। बिहीबार बिहान ७ बजेदेखि हुने मतदानका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको उनले बताए।  मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन्। १० ओटा मतदानस्थल रहको पालिकामा हरेक मतदानस्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ। मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका छन्। 

मंगलबारदेखि उनीहरूले संयुक्त रुपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती समेत सुरु गरेको नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। १० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा रहेको बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदानस्थल रहेको विद्यालयमा एक साताअघिदेखि नै बिदा दिइसकिएको छ भने मंगलबारदेखि ३ दिन नगरपालिकाका सबै विद्यालयहरू बन्द गरिएका छन्। १० वडा रहेको यस नगरपालिकाको कूल मतदाता संख्या १२ हजार ६ सय ५९ मतदाता रहेको छ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो। जेठमा बसेको सर्वदलीय बैठकमा असार २३ गते गर्ने राजनीतिक दलको सहमतिपछि बुढीगंगामा पुनः निर्वाचन हुन लागेको हो।


 

कमेन्ट लोड गर्नुस