भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट भेटियो
एजेन्सी: भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट फेला परेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा १० वटा राज्यमा बीए.२.७५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो।
इजरायलका वैज्ञानिक डा. शाय फ्लिशोनका अनुसार यो भेरियन्टले कस्तो असर देखाउँछ भन्ने अहिले नै भन्नु हतारो हुने बताएका छन्। उता इम्पेरियल कलेज अफ लण्डनका वैज्ञानिक थोमस पीककले यो नयाँ सब–भेरियन्टमाथि नजिकबाट निगरानी बढाउनुपर्ने जिकिर गरेका छन्।
हालसम्म भारतसहित ८ देशमा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि भएको छ। २ जुलाईसम्म महाराष्ट्र, पश्चिम बङ्गाल, दिल्ली, जम्मू कश्मीर, मध्य प्रदेश, तेलंगाना, उत्तर प्रदेश, हरियाणा, कर्नाटक र हिमाचलमा यसका ६९ सङ्क्रमित फेला परेका छन्। विज्ञहरूले भाइरस कमजोर बन्दै गएपछि यसका नयाँ–नयाँ सब–भेरियन्ट आउनु स्वाभाविक भएको बताएका छन्। भारतमा हाल ओमिक्रोनको सब भेरियन्ट बीए.४ र बीए.५ पनि सक्रिय रहेको छ।
पछिल्ला १४ दिनमा भारतमा दैनिक १० हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। सोमबार मात्र १३ हजार ८६ नयाँ सङ्क्रमित फेला परेका छन् भने २४ जनाको मृत्यु भएको छ। भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १२ हजार ७६१ पुगेको छ।