धनगढीमा शैक्षिक मेला हुदै, निःशुल्क परामर्श लिन सकिने
नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गर्दै आउदो फागुन १३ र १४ गते धनगढीमा पनि शैक्षिक मेला हुने भएको छ। विद्यार्थीहरुलाई उच्च शिक्षाका विषयमा जानकारी दिने उद्देश्यले विगत चार वर्षदेखी काठमाडौँमा शैक्षिक मेला आयोजना गर्दै आएको भिजन मिडिया इनकर्पोरेशन र एजुकेशन डटकमले धनगढीमा पनि मेला सञ्चालन गर्ने भएको हो।
आयोजकले आज धनगढीमा पत्रकार सम्मलेन गर्दै आउदो फागुन १३ र १४ गते मेला हुने जनाएको हो। मेला धनगढीको होटल जलशामा हुने आयोजकले जानकारी दिएको छ। बिहान १० बजेदेखी साँझ ५ बजे सम्म सञ्चालन हुने मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
मेलामा सहभागी हुने विद्यार्थीले काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तराष्ट्रिय विश्वविद्यालयसँग आवद्ध क्याम्पसहरुले अध्यापन गराउने कोर्षहरुका बारेमा निःशुल्क परामर्श लिन सक्ने आयोजकले जनाएको छ।
मेलामा सहभागी भई पराशर्म लिने विद्यार्थीका लागि रिचार्ज कार्डको समेत व्यवस्था गरिएको छ। मेलामा धनगढीसहित विभिन्न क्षेत्रका झण्डै २५ क्याम्पसहरुको सहभागिता रहने कार्यकारी निर्देशक तारामान रावलद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ।