सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा घण्टौं कुर्न विवश छन् बिरामी, डाक्टर निजी क्लिनिकमा व्यस्त

अस्पतालको उपचारमा सिण्डिकेट

२०७९ असार १९, ०५:३९ रोशन भट्ट

धनगढीः आइतबार दिउँसो १२ः ४० बजे सेती प्रादेशिक अस्पतालको अल्ट्रासाउन्ड विभाग अगाडि कारुणिक दृश्य देखियो। अल्ट्रासाउन्ड गर्ने कोठाबाहिर एक सेवाग्राही महिला चिकित्सकको बाटो कुर्दै थिइन्। 

घर कञ्चनपुर बताउने उनी थिइन् तारा सुनार। अल्ट्रासाउन्ड विभागको ढोका भने खुला थियो। दुई जना स्वास्थ्यकर्मी कोठामा थिए। त्यही भएर पनि तारालाई डाक्टर आउँछन् कि भन्ने आस थियो। अस्पताल पुगेको दिनेशखबर टिमले तारासँग कुराकानी गर्दा आँखाबाट आँसु झार्दै डाक्टर नै नभेटेको गुनासो उनले गरिन्। ‘हामी टाढाबाट आएका छौं। सधै आउन सकिन्न। गाडि भाडा पनि हुन्न। अहिले यहाँ डाक्टर छैनन्। भोलि आउनु भनेका छन्,’ उनले भनिन्। 

उता अल्ट्रासाउन्ड विभागमा काम गर्ने चिकित्सक होम प्रसाद पन्त भने १२ः ४५ बजेको समयमा अस्पताल अगाडिकै एक निजी स्वास्थ्य संस्थामा बिरामी हेर्न व्यस्त थिए। अल्ट्रासाउन्ड गर्ने अन्य दुई डाक्टर निरज अर्याल र विनय अधिकारी पनि अस्पतालमा थिएनन्। 
०००

कञ्चनपुरको पुर्नवास नगरपालिकाकी मिना विक पनि आइतबार उपचार सेवा लिनका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगिन्। टिकटघरबाट टिकट लिएर ओपिडी सेवा लिएकी मिनाले अल्ट्रासाउन्ड पनि गर्नुपर्ने थियो। उनी दिउँसो १२ बजेको समयमा अल्ट्रासाउन्ड गर्न सम्बन्धित विभागमा पुगिन्। तर अल्ट्रासाउन्ड विभागको जिम्मेवारी पाएका तीनै जना चिकित्सकमध्ये एक जना पनि त्यहाँ उपस्थित थिएनन्। 

सरकारी अस्पतालमै सहज र सस्तो सेवा लिने विश्वासका साथ सेती पुगेकी उनी निराश हुँदै फर्किएकी छन्। १० बजेदेखि पालो कुर्दा पनि अल्ट्रासाउन्ड गर्न नपाएको मिनाका आफन्त जगतले बताए। ‘हामी अस्पतालमा १० बजे नै पुगेका हौं,’ उनले भने, ‘१२ बजेटपछि अल्ट्रासाउन्ड भएन। भोलि आउनु भनेको छ।’
०००

सुदूरपश्चिमको सबैभन्दा बढी बिरामीको चाप हुने अस्पताल सेती हो। कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सेवा लिन दैनिक सयौं बिरामी पुग्ने गरेका छन्। कैलाली कञ्चनपुरसँगै सुदूर पहाडका विकट गाउँबाट पनि उपचार सेवा लिनका लागि आम सर्वसाधारणहरु सेतीमा पुग्ने गरेका हुन्छन्। 

तर, सेती अस्पतालले भने उपचारमै सिण्डिकेट लगाएको छ। अस्पतालमा अल्ट्रासाउन्ड गराउन मात्रै दैनिक सयभन्दा बढी सेवाग्राही पुग्ने गरेका छन्। तर तीन जना चिकित्सक रहेको अल्ट्रासाउन्ड विभागमा दैनिक ६० देखि ७० जनाको मात्रै अल्ट्रासाउण्ड हुने गरेको छ। यो नै उपचारमा सिण्डिकेटको एक उदाहरण हो। 

यस विषयमा सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डले भने जनशक्ति कम भएको बताउँदै पन्छिन खोजेका छन्। ‘विभागले भनेअनुसार एक जना डाक्टरले एक दिनमा २५ जना बिरामी हेर्ने हो,’ उनले भने, ‘एक डाक्टर बिदामा पनि छन्। त्यहीँ भएर धेरै काम गर्न नसकिएको हो।’

सेतीमा काम गर्ने चिकित्सकहरुको कार्यालय समय बिहान १० देखि ३ बजेसम्म हो। तर १२ बजेपछि चिकित्सकहरु निजी स्वास्थ्य संस्थामा भेटिने गरेका छन्। अस्पताल प्रशासनले सिण्डिकेट लगाएपछि चिकित्सकहरुलाई मनपरी भएको छ। सेतीबाट सरकारी तलब लिँदै आएका उनीहरु निजी क्लिनिकमा व्यस्त हुने गरेका हुन्। सेतीमा सहज स्वास्थ्य सेवा नपाएपछि बिरामीहरु पनि निजी क्लिनिकमा महंगो उपचार सेवा लिन बाध्य छन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस