डडेल्धुरामा बजार अनुगमन, २७ हजार बराबरको सामान नष्ट
डडेल्धुराः डडेल्धुरामा जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गरेको छ। प्रशासनले जिल्ला सदरमुकामको तुफानडाँडा, बागबजार र बगरकोट रोड क्षेत्रमा शक्रुबार बजार अनुगमन गरेको हो।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत हेमप्रसाद ढकालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, अमरगढी तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरेको हो।
२२ वटा व्यवसायिक फर्मको अनुगमन गरिएको प्रशासनका सूचना अधिकारीसमेत रहेका ढकालले जानकारी दिए। उनका अनुसार संयुक्त बजार अनुगमन टोलीले २७ हजार २ सय रूयैयाँ बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ। त्यसमा सडेगलेको तेल, सडेगलेको केरा, म्याद नाघेको पानीपुरी पापड, रियल जुसलगायतका खाद्य बस्तु रहेको उनले बताए। उक्त म्याद नाघेको बस्तु नष्ट गरी आगामी दिनमा भेटिएमा व्यापारीहरूलाई कारबाही गर्ने चेतावनी दिइएको छ।