सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकाे मित्रनगर डुबानमा, कामै लागेन साढे २ करोडको पाइप

२०७९ असार १६, ०५:४८ रोशन भट्ट

धनगढीः अहिले कैलालीको धनगढीमा मुख्य समस्या रुपमा डुबान रहेको छ। सामान्य वर्षामा पनि धनगढीका अधिकांश टोलहरु डुब्ने गरेका छन्। प्राकृतिक बहाव रोक्नेगरी खोला तथा कुलाहरुमा भौतिक संरचना निर्माण गरिएपछि डुबानको समस्या विकराल बन्दै गएको छ।

बुधबार राति भएको वर्षाका कारण पनि धनगढीका अधिकांश टोलहरु डुबानमा परेका छन्। त्यसमध्यको एक टोल धनगढीको मित्रनगर हो। उपमहानगरपालिकाको वडा नम्बर ३ मा पर्ने मित्रनगरमा जमेको पानी समयमा निकास हुन सकेको छैन। जसका कारण उक्त क्षेत्रका स्थानीयको दैनिकी कष्टकर बनेको छ। 

आवश्यक कामका लागि घर बाहिर निस्कन पनि मुस्किल हुने गरेको स्थानीयले बताएका छन्। सार्वजनिक जग्गा अतिक्रमण भएकै कारण डुबानको समस्या देखिएको वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐरले बताए। ‘जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाएपछि मात्रै डुबानको दीर्घकालिन समाधान हुन्छ,’ उनले भने, ‘अहिलेलाई पानी निकास गर्ने काम भइरहेको छ।’

वर्षाको पानी बग्ने नाला तथा कुलोहरु अतिक्रमित भएपछि उक्त क्षेत्रमा डुबानको समस्या छ। तर डुबान भएको समयमा केही सरोकारवालाले चासो दिएजस्तो गरेपनि दीर्घकालिन रुपमा समस्या समाधान भने हुन सकेको छैन। विगतमा वडा नम्बर ३ को पानी वडा २ हुँदै बग्ने गरेको उक्त क्षेत्रका स्थानीयले बताएका छन्। तर अहिले वडा नम्बर २ हुँदै पानी बग्ने स्थानमा पनि भौतिक संरचनाहरु निर्माण भएका छन्। त्यसकारण दुवै वडाका स्थानीयलाई सास्ती भएको छ। 

धनगढीको वडा नम्बर ३ मित्रनगरको डुबान समस्यालाई समाधान गर्नका लागि उपमहानगरपालिकाले यसै आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो। २ करोड ६८ लाख बजेटमा पाइप हालेर पानीको निकास गर्ने उपमहानगरपालिकाका इन्जिनियर कमल ओझाले बताए। ‘उक्त पाइप बिस्तार गर्ने काम उपभोक्ता समितिले गरिरहेको छ,’ उनले भने, ‘काम भने पूर्ण रुपमा सकिएको छैन। 

विद्युत कार्यालयदेखि मोहना नदीमा पानीको निकास गर्ने गरी पाइपको योजना कार्यान्वयन भइरहेको छ। तर केही पाइपहरु बिस्तार गरिएको भएपनि पानी निकास भने भएको छैन। 


 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस