सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवासँग एमालेले माग्यो एसपीपीबारे अमेरिकालाई पठाएको सबै पत्र

२०७९ असार १६, ०२:०६ खबर संवाददाता

धनगढीः नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एसपीपीबारे अमेरिकालाई लेखेको सबै पत्र संसदमा ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। संसद दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेम्वाङले एसपीपीबारे अहिलेसम्म अमेरिकालाई लेखेको सबै पत्र संसदमा ल्याउन आग्रह गरेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको १५ औँ दिनमा सेनाबाट अमेरिकालाई पत्र लेखिएको उनले बताए। तर, उक्त चिठीबारे तत्कालीन प्रधानमन्त्री ओलीलाई कुनै जानकारी नभएको उनले बताए। ‘एसपीपीलाई लिएर प्रधानमन्त्री भएको १५ औं दिनमा सेनाबाट एउटा चिठी गएछ। त्यो ठिक हो कि होइन,’ नेम्वाङले भने, ‘त्यो प्रश्न उठ्नेबित्तिकै ओलीले नै केपी ओलीले लेखेको भन्ने भो। अचम्मको कुरा होइन भन्छु म। उहाँले पनि मैले लेख्न लगाएको होइन भन्नुभयो।’

उक्त पत्र यतिकै झुन्डिएर बस्न नहुने नेम्वाङले बताए। ‘हामी जिम्मेवार दल भएको ठाउँमा किन यतिकै झुन्डिएर बसेको छ। त्यतिबेला सेनाले चिठी लेखेको रहेछ । पछि पनि गएको देखिन्छ,’ उनले भने, ‘त्यो सम्पूर्ण चिठी रक्षा मन्त्रालय र सेनासँग छ। त्यो सबै चिठी संसदमा प्रस्तुत गरिदिनुस् न प्रधानमन्त्रीज्यू।’

कमेन्ट लोड गर्नुस