सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली सन्धि भएको २६ वर्षपछि भारतले दियो सिँचाइका लागि पानी

२०७९ असार १६, ११:०४ खबर संवाददाता

कञ्चनपुर: महाकाली सन्धि भएको २६ वर्षपछि भारतले नेपाललाई सिँचाइका लागि पानी दिएको छ। बुधबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सो नहरको पानीले रोपाइँ गरेर नहर उद्घाटन गरेका छन्। 

नेपालले महाकाली सिँचाइ तेस्रो चरण आयोजनाअन्तर्गत नहर निर्माण कार्य आर्थिक वर्ष २०६३/६४ बाट सुरु भएको थियो तर, पानी ल्याउन महाकाली नदीसम्म पुग्ने एक हजार दुई सय मिटर नहर भारतीय क्षेत्रमा पर्ने हुँदा भारतीय पक्षले बेवास्ता गरेको थियो। सोही कारण आयोजना सुस्त गतिमा अगाडि बढेको थियो।  

दुई वर्षअघि तत्कालीन ऊर्जासचिव दिनेशकुमार  घिमिरेको भारत भ्रमणका क्रममा सहमति गरेपछि भारतले आफ्नो क्षेत्रमा पर्ने सम्झौताअनुसार बनाउनुपर्ने नहर निर्माण गरेको छ। 

नेपालले पनि तीव्र गतिमा काम अगाडि बढाएको र योजना तोकिएकै समयमा पूरा हुने सिनियर डिभिजन इन्जिनियर शम्भुराज पण्डितले बताए। उनका अनुसार अहिलेसम्म १६ प्रतिशत काम पूरा भएको छ। मूल नहरसँगै २२ वटा शाखा नहर निर्माण भएपछि ५३ सय हेक्टरमा सिँचाइ सुविधा पुग्ने उनले बताए।  

सरकारले दुई वर्षअघि सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत मूल नहरसँगै शाखा नहर निर्माणका लागि बजेट विनियोजन गरेको छ। नहरबाट कैलालीको मालाखेती र कञ्चनपुरका दक्षिणी क्षेत्र पुनर्बाससम्मै सिँचाइ सुविधा पु–याउने लक्ष्य लिइएको छ।
 

कमेन्ट लोड गर्नुस