सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्धारा राजीनामा

२०७९ असार १६, ०८:०९ खबर संवाददाता

काठमाण्डौँः भारत महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्।

सामाजिक सन्जालमा लाइभ भिडियोमार्फत् उनले भने, ‘म शिवसैनिकहरुको रगत बगोस् भन्ने चाहन्न। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु। पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन।’ 

ठाकरे भारतको शिवसेना प्रमुखसमेत हुन्। त्यसलगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए। ठाकरेले विधान परिषदको सदस्यबाट पनि राजीनामा दिने बताएका छन्।

महाराष्ट्रका राज्यपाल कोसियारीले पनि बहुमत परीक्षण गर्न भन्दै आज बिहीबार बिहान ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए। त्यसविरुद्ध शिवसेनाका नेता सुनिल प्रभुले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चका न्यायाधीशहरु सूर्यकान्त र जेबी पार्डिवालाले रिटमा सुनुवाइ गर्दै विधानसभामा फ्लोर टेस्टलाई रोक्न नसकिने फैसला सुनाएका थिए। त्यसपछि मुख्यमन्त्री ठाकरेले राजीनामा दिएको घोषणा गरे।

शिवसेनाका विद्रोही नेता एकनाथ शिन्देसमक्ष बहमुत सदस्य रहेपछि ठाकरेलाई विधानसभामा बहुमत देखाउनुपर्ने चुनौती थियो तर उनले बहुमत सिद्ध नगरी राजीनामाको बाटो रोजे।

यसैबीच अब महाराष्ट्रमा एकनाथ शिन्देसमेतको समर्थनमा भाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने चर्चा छ।


 

कमेन्ट लोड गर्नुस