धनगढीमा फेरि सुरु भयो शनिवारिय महिला उद्यम बजार, ७० स्टल
धनगढीः महिलाले घरमै सिकेको सीप र वर्षौँदेखि गर्दै आएको कामलाई आम्दानीको स्रोत बनाउने अवसर फेरि खुलेको छ। वर्षा र हावाहुरीका कारण केही समय रोकिएको धनगढीको शनिवारीय महिला उद्यम मेला असोज २४ गतेदेखि पुनः सञ्चालनमा आएको हो। शनिबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाको उपस्थितिमा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले मेलाको उद्घाटन गरे।
वर्षा र हावाहुरीका कारण केही समय बन्द भएको मेला पुनः सञ्चालनमा आएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए। महिलाको सीपलाई उद्यममा रूपान्तरण गर्दै नियमित आम्दानीको आधार तयार गर्ने लक्ष्यसहित मेला सञ्चालनमा ल्याइएको हो। करिब ७० वटा स्टल रहेको मेलाले महिलालाई आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउने, बजारको माग बुझ्ने र आफ्नै सीपबाट आम्दानी गर्ने अवसर दिएको बताइएको छ।
घरायसी काममा सीमित महिलाको सीपलाई बजारसँग जोड्ने र उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले २०८१ सालदेखि यो मेला सञ्चालन गर्दै आएको छ। प्रत्येक शनिबार साँझ धनगढी उपमहानगरपालिका–१ स्थित जेनजी मार्गमा लाग्ने मेलामा महिलाले आफ्नै उत्पादन बिक्री गर्दै आम्दानी गर्ने अवसर पाएका छन्।
महिलामा रहेको ज्ञान, सीप र कलालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले उपमहानगरपालिकाले मेला व्यवस्थापन गर्दै आएको छ। शनिवारीय महिला उद्यम मेला महिलाले उत्पादन गरेका वस्तु बेच्ने थलो मात्रै नभई उनीहरूको सीप, श्रम र सिर्जनशीलतालाई बजारमा चिनाउने अवसरसमेत बन्दै आएको छ।