सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा देउडा गाउँदै मनाइयो धान दिवस

२०७९ असार १५, ०२:५८ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा देउडा लयमा गीत गाउँदै र धान रोप्दै १९औँ राष्ट्रिय धान दिवस मनाइएको छ। जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–३ डोटी घटाल (साउद गाउँ)मा किसानको खेतमा गएर कृषि ज्ञानकेन्द्र र अमरगढी नगरपालिकाले धान दिवस मनाइएको हो।

धान रोप्ने वेला खेतका आलीमा देउडा लयमा गीत गाउँदै रमाउँदै धानदिवस मनाइएको अमरगढी नगरपालिका–३ का वडाध्यक्ष तीर्थ ऐरले बताए। ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा आज धानदिवस मनाइने गरिन्छ। दहीच्यूरा खाँदै देउडा लयमा गीत गाउँदै धानदिवस मनाइएको हो। वर्षामा हिलाम्मे भएको शरीरमा ऊर्जा दिने भएकाले दहीच्यूरा खाने चलन रहेको छ।

‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको कृषि ज्ञानकेन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए। भट्टका अनुसार डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। असार १५ गतेसम्म जिल्लामा ६५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको उनको भनाइ छ। धानदिवसमा स्थानीय जनप्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख, कृषि ज्ञानकेन्द्रका कर्मचारी, अमरगढी कृषि शाखाका प्रतिनिधि र स्थानीय कृषकको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस