सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेवाग्राहीले कर्मचारीलाई कुर्दै दिन बिताए, कर्मचारीले मेयर कप उद्घाटनमै दिन कटाए

२०७५ फाल्गुन ७, ०५:२४ जनक विष्ट

कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा कार्यालयमा नभेटिने गरेका कारण सेवाग्राहीले सास्ती पाउने गरेका छन्। प्रमुख प्रशासकिय अधिकृत बुढाले नगरपालिकाका जनप्रतिनिधिहरुसँगै औपचारिक कार्यक्रममा दिन कटाउन थालेपछि सेवाग्राहीले हस्ताक्षरकै लागि हप्तौँ सम्म नगरपालिका धाउनुपर्ने बाध्यता कायमै रहेको बताएका छन्। मंगलबार पनि प्रमुख प्रशासकिय अधिकृत बुढाले लम्कीचुहा नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको मेयर कप फुटबल प्रतियोगिताको उद्घाटनमै व्यस्त भएपछि एउटै हस्ताक्षरका लागि नगरपालिकामा दिन बिताए पनि काम नभएको बताएका छन्।चिसापानीमा व्यवसाय गर्दै आएका भवानी प्रसाद शर्माले प्रमुख प्रशासकिय अधिकृत बुढाको हस्ताक्षरका लागि दुई दिन सम्म धाउँदा पनि कार्यालयमा नभेटिएको बताए। उनले सोमबार आन्तरीक राजस्व कार्यालयमा फार्म दर्ताका लागि नगरपालिकाबाट  सिफारिस बनाएपनि प्रमुख प्रशासकिय अधिकृत कार्यालयमा नभेटिदा हस्ताक्षरकै कारण अघिल्लो दिन पनि फर्किएको र मंगलबार पनि उनी कार्यालयमा नभेटिदा दुई दिन देखी काम रोकिएको बताए। यस्तै उपभोक्ता समितिबाट पिपल चौतारा बनाएको भुक्तानीका लागि एक हप्तादेखी नगरपालिका धाइरहेका लम्कीचुहा वडा नम्बर ८ का विक्रम मल्लले पनि प्रमुख प्रशासकिय अधिकृत नभेटिएकै कारण काम नभएको बताए।

अन्य सबै कागजपत्र तयार भइसकेपनि प्रमुख प्रशासकिय अधिकृतको हस्ताक्षर विना भुक्तानी रोकिएको मल्लको गुनासो थियो। उनले अरु दिन प्रमुख प्रशासकिय मल्ल नभेटिने गरेका कारण आज बिहान नौ बजेदेखी नगरपालिका पुगेर कुर्दा पनि साढे तीन बजे सम्म नभेटेको जनाए। सेवाग्राहीलाई कार्यालयमा भएका कर्मचारीले समेत गैर जिम्मेवार जवाफ दिने गरेका छन्। उनीहरुले प्रशासकिय अधिकृत कहाँ हुनुहुन्छ भनी सोध्दा हामीलाई के थाह फोन गरी सोध्नुस भन्ने गरेको बताए। यता प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले भने हप्ता दिन देखी कार्यालयमा नभेटिएको आरोप आधारहिन भएको बताए तर सोमबार सन्चो नभएका कारण र मंगलबार मेयर कप फुटबल प्रतियोगिता उद्घाटनका लागि लम्कीचुहा वडा नम्बर १ भुरुवामा आफू भएको जानकारी दिए। त्यस्तै मंगलबार नगरपालिकाका लेखा र योजना शाखाका बाहेक अधिकांश शाखाका कर्मचारी कार्यालयमा थिएनन् भने नगर प्रमुख महादेव बजगाई मेयर कप उद्घाटनका लागि भुरुवामै थिए भने उपप्रमुख टिका थापा समेत नगरपालिका बाहिर थिईन्।  
 

 
  
 

 
 

 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस