सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतन अधिकार खारेज

२०७९ असार ११, ०५:४४

एजेन्सी: अमेरिकाको सर्वोच्च अदालतले देशव्यापी रुपमा गर्भपतनलाई कानुनी संवैधानिक सुरक्षा दिने ५० वर्ष पुरानो फैसलालाई खारेज गरेको छ। यो निर्णयका कारण करोडौं अमेरिकी महिलाहरूले गर्भपतनको कानुनी अधिकार गुमाउनेछन्।

अदालतले सन् १९७३ को रो भर्सेस वेड निर्णयलाई खारेज गर्ने तयारी गरेको कागजात लिक भएको केही समयपछि त्यसै अनुरुपको निर्णय गरेको छ। निर्णयले अमेरिकामा गर्भपतन अधिकारलाई बदलिनेछ, अब गर्भपतनसम्बन्धमा हरेक राज्यले आफ्नै कानुन बनाउन सक्छन्। रिपब्लिकन पार्टीको सरकार रहेका राज्यले यसअघि नै गर्भपतनलाई प्रतिबन्ध लगाइसकेका या त्यस्तै कानुन ल्याउने प्रयास गरिरहेका थिए।

ती राज्यमा गर्भपतन गर्न चाहनेलाई यसअघि ‘रो भर्सेस वेड’ले संरक्षण गर्दै आएको थियो। अब अमेरिकाका आधा आधा राज्यले गर्भपतनलाई प्रतिबन्ध लगाउने वा पहिलेभन्दा सिमित गर्ने कानुन ल्याउने अपेक्षा गरिएको छ। सर्वोच्च अदालतको शुक्रबारको फैसलाले प्रजनन उमेरका करिब ३ करोड ६० लाख महिलाका लागि गर्भपतन पहुँचबाट बन्चित हुने गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्य संस्था ‘प्लान्ड पेरेन्टहुड’को अनुसन्धानले देखाएको छ। सन् १९७३ को ऐतिहासिक रो भर्सेस वेड मुद्दा तत्कालिन सर्वोच्च अदालतका न्यायाधीशहरुमाझ मत विभाजन भएर सात–दुई मतले पारित भएको थियो।  

उक्त निर्णयले अमेरिकी महिलाहरूलाई गर्भावस्थाको पहिलो तीन महिनामा गर्भपतन गर्ने पूर्ण अधिकार दिएको थियो भने दोस्रो त्रैमासिकमा केही नियन्त्रण र तेस्रोमा निषेधको गरेको थियो। तर पछिल्ला दशकमा, गर्भपतन विरोधी फैसलामार्फत एक दर्जनभन्दा बढी राज्यहरूमा गर्भपतनमाथिको पहुँच कडाई गरिएको थियो।

न्यायाधीशको राजनीतिक नियुक्ति गर्ने देश

अमेरिकाको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सहित नौ न्यायाधीश हुने व्यवस्था छ। तिनको चयन राजनीतिक आस्थाका आधारमा हुने गरेको आरोप लाग्छ। न्यायाधीश जुन दलका राष्ट्रपतिले गरे, तिनको झुकाव सोही दलको विचार नजिक हुने मानिन्छ। हाल सर्वोच्च अदालतका नौमध्ये ६ जना रिपब्लिकन पार्टीका राष्ट्रपतिले प्रस्ताव गरेका हुन् भने तीन जनलाई डेमोक्रेटिक पार्टीका राष्ट्रपतिले। रिपब्लिकन पार्टी पछिल्लो समय गर्भपतनलाई नियन्त्रण गर्नुपर्ने लाइनमा ढल्किन थालेको छ।

निर्णयले अन्य समाजिक क्षेत्रमा पनि पार्छ प्रभाव

अमेरिकी सर्वोच्च अदालतको निर्णयले समलिङ्गी विवाह, यौन र सम्भवतः गर्भनिरोधक साधनमा पनि पर्नेछ। अर्थात निर्णयपछि निजी जीवनका अन्य क्षेत्रहरूमा पनि प्रतिबन्धहरू ल्याउने चिन्ता व्यक्त गरिन थालेको छ। अन्तर्राष्ट्रिय रूपमा यो निर्णयपछि अमेरिका सन् १९९४ पछि गर्भपतन प्रतिबन्ध लगाउने चार देशमध्ये एक बनाउनेछ।

सेन्टर फर रिप्रोडक्टिभ राईट्सका अनुसार अमेरिकाबाहेक अन्य देशहरू पोल्याण्ड, निकारागुआ र एल साल्भाडोर रहेका छन्। यसले विश्वव्यापी रूपमा महिला र युवतीको अधिकारको पक्षमा वकालत गर्ने अमेरिकाको क्षमतालाई पनि असर गर्छ।

कमेन्ट लोड गर्नुस