सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हुलाकी सडकको स्तरोन्नति सुस्त, अग्ला नालीले पानी जम्ने चिन्ता

२०७९ असार ९, ०४:३० नारायण अवस्थी

धनगढी: कैलालीस्थित धनगढीको क्याम्पस चोकदेखि मनेहरा कालिका मन्दिरसम्म हुलाकी सडकमा पानी पर्दा ताल बन्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। निर्माणाधिन सडकको दायाँबायाँ बनेका नाली सडकभन्दा अग्लो रहेकोले पानी निकास नहुने भन्दै स्थानीयले चिन्ता गरेका हुन्। 

हुलाकी सडकको यो खण्डमा बीचको साँघुरो भाग केही अग्लो भए पनि दायाँबायाँ भने नाली भन्दा गहिरो छ। जसकारण  बर्सातको पानी सडकमै जम्ने देखिन्छ। सडक निर्माणको कामसमेत अहिले नभइरहेकाले पानी पर्दा पूरै सडकमा ताल बन्ने आशंका गरिएको छ। सडकमा बेस सब–बेस हाल्न छोडिएकाले पानी जमेर समस्या हुने बुद्धचोका काशीराम विष्टले बताए।

‘निर्माणाधिन सडकमा नाली निर्माणको काम सकिएको छ। तर बीचको साँघुरो भागभन्दा दायाँबायाँ नालीभन्दा गहिरो छ,’ उनले भने, ‘यो गहिरो भागमा नै पानी जमेर तालबन्दा सडक प्रयोगमा समस्या हुने चिन्ता छ।’

सडकको मध्य भाग जत्तिकै अग्लो छेउको सडक बनाए पानीको निकासका लागि निर्माण गरिएको नालीमा हुने भए पनि ग्रावेल हाल्ने काम भएको छैन। पानी पर्दा सडकमा पानीको आहाल हुने चिन्ता क्याम्पस रोडमा फलफूल पसल गर्दै आएका व्यापारी रामनारायण चौधरीको छ। ‘सडकमा अहिले काम रोकिएको छ। बर्खा लाग्न थाल्यो, सडकको गहिरो भाग पुर्ने काम भएको छैन,’ उनले भने, ‘पानी परे हामीलाई पसल चलाउन निकै समस्या हुन्छ।’

हुलाकी सडकको क्याम्पस चोकदेखि मनेहरासम्म सबै ठाउँमा पानी जमेर सडकमै ताल बन्ने भन्दै स्थानीयले चिन्ता गरेका छन्। सडकमा पानी जमे पसल तथा घरमा जाने समस्या हुने भएको छ भने निकै साँघुरो सडक सबैले प्रयोग गर्दा दुर्घटना हुने चिन्ता गरिएको छ।  सडको दुवैतर्फ बर्सातको पानी नजम्ने उपाय ननिकाले सवारी साधन पार्किङदेखि सडक प्रयोगमा निकै समस्या हुने क्याम्पस चोकमा भेटिएका फूलबारीका नवराज जोशीको छ। ‘यो निकै व्यस्त हुने सडक हो तर दायाँबायाँ निकै गहिरो छ,’ उनले भने, ‘पानी पर्दा यहाँ गाडी चलाउन र रोक्न समस्या हुने भएको छ।’

सर्वसाधारणको गुनासोबारे हुलाकी सडक आयोजना कार्यालय धनगढीले  ध्यानाकर्षण भएको जनाएको छ। बर्सातको पानीको निकासका लागि नालीमा निश्चित दूरीमा प्वाल राखेको र ती प्वाल खोल्ने काम गरिने हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर पदमबहामदुर मडैले बताए। ‘सडकको नालीमा २० मिटरको फरकमा पानीको निकास हुने प्वाल बनाइएको छ,’ उनले भने, ‘हामीले ती प्वालबाट सडकको पानी नालीमा जाने बनाउँछौँ। त्यसैले समस्या हुनेछैन।’

हुलाकी सडकको काम निकै सुस्त गतिमा भइरहेकाले कामको गति बढाउनुपर्ने पनि स्थानीयले माग गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस