सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीगंगाको २ महिनामा डिपिआर टुङगो लगाएर जेठमा टेण्डर खोल्ने तयारी

२०७५ फाल्गुन ७, ०६:४७ नवराज पनेरु

अछामको बुढीगंगा जलविद्युत आयोजनाको अध्ययन सुरु भएको २३ बर्ष सम्म पनि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार नहुँदा आयोजना अवधि लम्बिने भएको छ। डिपिआर अर्थात विस्तृत परियोजना प्रतिवेदन बनाउँन भएको ढिलाईले आयोजना झण्डै ३ बर्ष लम्बिने भएको हो। यसअघि २०७७ साल भित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकोमा अव २०८० भित्रै आयोजना सक्ने योजना बनाईएको छ। 

अछाम हुँदै बगिरहेको बुढीगंगा नदीमा २० दशमलव २ मेघावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य सहित २०५२ सालमा बुढीगंगा जलविद्युत आयोजनाको अध्ययन सुरु भएपनि २३ बर्ष सम्म समेत विस्तृत परियोजना प्रतिवेदन तयार हुन बाँकी रहेको हो। २०७३ असार १४ गते अस्ट्रेलियन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीसँग १८ महिनाभित्र डीपीआर तयार गरिसक्ने गरी सम्झौता भएपनि त्यसपछि पटक–पटक थपिएको समयमा पनि डिपिआर तयार भएको छैन्। डिपिआर आयोजना कार्यालयलाई परामर्शदाता कम्पनीले बुझाईसकेपछि केहि सुधार गर्नुपर्ने भएकाले ढिलाई भएको बुढीगंगा जलविद्युत आयोजनाकी प्रवत्ता ईन्जिनियर पुनम पाण्डेयले बताईन्। 

बुढीगंगा जलविद्युत आयोजनामा साउदी विकास कोषले ३ अर्ब २० करोड र कुवेत विकास कोषले १ अर्ब ८० करोड ऋण लगानी गर्ने र बाँकी अपुग रकम नेपाल सरकारले लगानी गर्ने योजना रहेको छ। तर अध्ययन सुरु भएको २३ बर्ष वितिसकेको छ अहिले सम्म जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन समेत तयार भएको छैन्। नेपाल सरकार, उर्जा मन्त्रालय विद्युत विकास विभागको निर्माणाधिन यो पहिलो जलविद्युत आयोजना भएपनि अन्य आयोजनाको काम तिव्र गतिमा अगाडी बढेको र बुढीगंगाको प्रगती सुस्त हुँदा पहिलो आयोजना पनि नहुने भएको छ। 

सरकारी स्तरबाट हुने वेवास्ता र यस क्षेत्रबाट राष्ट्रिय राजनितिमा दख्खल राख्ने नेताहरुको उदासीनताका कारण बुढीगंगा जलविद्युत आयोजनाले आशातित रुपमा प्रगती गर्न नसकेको हो। जलविद्युत आयोजनाको डिपिआर समेत तयार नभएपछि अहिले आयोजनास्थल सम्म पुग्ने ७ सय ६७ मिटर सडक निर्माण भएको छ भने कार्यालय भवनको पनि निर्माण सकिएको छ। 

२०७७ साल भित्रै आयोजनाको निर्माण सक्ने लक्ष्य राखिएपनि अहिले सम्म डिपिआर समेत तयार नभएकाले आयोजनाको अवधी बढाईएको छ। अव २०८० भित्रै आयोजनाको निर्माण सक्ने सम्झौता लगानीकर्ता र सरकारविच भईसकेको छ। २ महिना भित्रै आयोजनाको डिपिआर टुङगो लगाएर चालु आर्थिक बर्षमै टेण्डरमा जाने तयारी रहेको बुढीगंगा जलविद्युत आयोजनाकी प्रवत्ता ईन्जिनियर पाण्डेयले बताईन्। बुढीगंगा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा खपत हुने र बाँकी विद्युत कैलालीको पहलमानपुरसम्म पुगाएर केन्द्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस