सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाईयो

२०७५ फाल्गुन ६, ०८:५८ जनक विष्ट

भारतीय  एसएसबीले आज दिउँसो देखी परिचयपत्र बिना गौरीफन्टा नाकामा आवातजावतमा रोक लगाएपछि अलपत्र परेकाहरुलाई अवेर साँझ गन्तव्यतर्फ पठाईएको छ। आईतबार सीमामा भएको तनावको विषयलाई लिएर एसएसबीले आज दिउँसोबाट एक्कासी सीमामा परिचयपत्र (नेपाली नागरिकता) अनिवार्य गरेपछि अलपत्र परेकाहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरीले एसएसबीसँग आपसी समझदारी गर्दै गन्तव्यतर्फ पठाईएको हो।सीमामा तनाव भएपछि राजस्व तथा भन्सार सुरक्षा गस्ती गुल्म हेड क्वाटर नम्बर ५३ का सशस्त्र प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दको नेतृत्वमा गौरीफन्टा पुगेको टोलीले एसएसबीलाई आजलाई अलपत्र परेका व्यक्तिहरुलाई गन्तव्यतर्फ जान दिन आग्रह गरेको थियो। सशस्त्र प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दले एसएसबीलाई परिचय पत्र अनिवार्य गरिएको विषयमा जानकारी नहुदा धेरैले साथमा नबोकाले आजलाई जान दिन आग्रह गरेपछि अलपत्र परेकाहरु गन्तव्यतर्फ लागेको जानकारी दिए।एसएसबीले नेपाली पक्षको आग्रहलाई स्वीकार गरेपछि परिचयपत्र साथमा नहुदा सीमामा अलपत्र परेको झण्डै डेढ सय जना गन्तव्यतर्फ लागेका छन्। त्यसमा बढिजसो सुदूरपश्चिमबाट मजदुरीका लागि भारत जानेहरु रहेका थिए भने केही सीमावर्ती बजारमा किनमेलका लागि गएकाहरु थिए। 

एसएसबीले एकाएक सीमामा परिचयपत्र अनिवार्य किन ग¥यो ? 
एसएसबीका अनुसार भारतको मथुरा जाने बसको टिकट काट्दै आएका धनगढीका मिलन परियार र टिङ्कु पोखरेल आईतबार गौरीफन्टा नाका भएर जान खोज्दा मोटरसाईकलको  कागजपत्र नभएको भन्दै फिर्ता पठाईएको थियो। तर ती नेपाली चोरी नाका भएर बनगाउँ बजारबाट सामान ल्याएर गौरीफन्टा नाका भएर फर्किएपछि एसएसवीले पक्राउ गरेको थियो।एसएसबीले उनीहरुमाथी कुटपिट गरेपछि सीमामा विवाद बढेको थियो। सोही विषयलाई लिएर एसएसबीका इन्चार्ज सन्तराम बरारले परिचयपत्र भएकाहरुलाई मात्र आवातजावत गर्न निर्देशन जारी गरेका थिए। बरार केही दिन पहिले मात्र गौरीफन्टाको एसएसबीको इन्चार्ज भएर आएका व्यक्ति हुन्।   

नेपाली भन्छन्, ‘यसअघि बिना परिचयपत्र सीमामा निर्वाध रुपमा आवातजावत थियो ।’
विगत ७ वर्षदेखी भारतको दिल्लीमा काम गर्दै आएका धनगढी उपहानगरपालिका १६ का पदम बोहोरा दुईदिन अघि मात्र घर आएका थिए। भाईले पनि उतै अध्ययन गर्ने भनेपछि घरपरिवारसँग विदा हुदै सोमबार दिउँसो दुवै दाजुभाई धनगढीबाट हिडे। दिउँसो ४ बजेतीर गौरीफन्टा पुगेका उनलाई एसएसबीले परिचयपत्र देखाउन भने तर उनले साथमा नबोक्दा सीमामा अलपत्र पर्नु प¥यो।दुई दिनमै फर्किने हुदा सबै परिचय पत्र भारतमै छोडेर आएको बोहोराले सुनाए। ‘दिल्लीमा काम गर्न थालेको ७ वर्ष भयो अहिले सम्म परिचय पत्र मागेका थिएनन्,’ बोहोराले दिनेश खबरसँग भने, ‘तर आज एसएसबीले परिचयपत्र देखाउनुस भन्यो खै कहाँबाट ल्याउने होला।’यस्तै रोजगारीका लागि दिल्ली जान लागेका कैलालीको गौरीगंगा नगरपालिकाका ध्वज बहादुर शाही पनि विगत एक वर्षदेखी दिल्लीमै रोजगारी गर्दै आएका छन्। उनले पनि  एसएसबीले अहिले सम्म नेपाल–भारत आवातजावत गर्दा परिचयपत्र नमागेको बताए। केही दिनका लागि मात्र घर आएकाले सबै कागजपत्र भारतमै रहेको उनले सुनाए। भारतले जस्तै नेपाल सरकारले पनि नेपालमा आउने भारतीयको परिचय पत्र अनिवार्य गर्नुपर्ने बताए। 

दुई देश बिच समन्वयको अभाव  
अन्तराष्ट्रिय मान्यता अनुसार नागरिकलाई असर पर्ने खालका काम सीमामा गर्दा दुवै देश बिच समन्वय हुनुपर्छ तर नेपाल भारत सीमामा भने त्यसो हुन सकेको छैन्। भारतले नेपाली पक्षलाई जानकारी नदिई आफ्नो हिसाबले काम गर्दा बेला बेला सीमामा समस्या आउने गरेका छन्। नेपालको प्रशासनिक निकायले समेत यस विषयमा गम्भीर नबन्दा समस्या हुने गरेको कतिपय जानकारहरुले बताउने गरेका छन्। सीमामा आवातजावत गर्दा परिचय पत्र अनिवार्य गर्नु आफैमा गलत पक्ष नभएपनि नेपाललाई जानकारी नदिएर भारतले एकतर्फी रुपमा एकाएक उक्त नियम लगाउदा सर्वसाधारणले दुःख पाएको बुझाई धेरैको छ।   

यो पनि पढ्नुस 

गौरीफन्टा नाकामा तनाव, आवतजावत गर्न नेपाली परिचयपत्र मागिदै

 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस