रुसले इटलीलाई दिने ग्यासमा कटौती गर्यो
रुसले इटलीमा निर्यात गर्ने ग्यास कटौती गरेको छ। रुसको ग्यास निर्यात गर्ने मुख्य कम्पनी गाजप्रोमले इटलीको सरकारी कम्पनी ईएनआईलाई दिने ग्यासको परिमाणमा झन्डै आधाले कटौती गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
गाजप्रोमले आज आइतवार लगातार पाँचौँ दिन पनि मागेजति ग्यास नदिएको ईएनआईले जनाएको छ।
ईएनआईले रुसबाट दैनिक ६३ मिलियन क्युबिक मिटर ग्यास आपूर्ति गर्दै आएकोमा गएको बुधवारदेखि ५० देखि ८० प्रतिशतसम्म मात्रै ग्यास प्राप्त भएको इटलीले जनाएको छ।
रुसले आपूर्तिमा रोक लगाउने क्रम जारी राखेमा इटलीले अर्को हप्ता नै नागरिकलाई ग्यासको खपत कम गर्न आग्रह गर्न सक्ने वा कोटा तोक्न सक्ने सम्भावना छ।
रुसबाट ग्यास आपूर्तिमा कमी आएसँगै इटलीले उद्योग प्रयोग कम गर्ने, कोइला पावर प्लान्टको क्षमता बढाउने र रुसबाहेकका निर्यातकर्तासँग ग्यासका लागि अनुरोध गर्न सक्ने पनि खबरमा उल्लेख छ।
इटलीले आउँदो जाडोयामका लागि ९० प्रतिशत भण्डारण भर्ने लक्ष्य लिएको छ। अहिले भण्डारण क्षमताको ५४ प्रतिशत मात्रै ग्यास स्टक रहेको बीबीसीले जनाएको छ।
रुसका प्रवक्ता दिभित्री पेस्कोभले मर्मतका कारण पछिल्ला केही दिनमा ग्यासको निर्यातमा कमी भएको दाबी गरे पनि इटलीका प्रधानमन्त्री मारिओ दाघ्रीले भने रुसले ग्यासमा राजनीति गर्न खोजेको आरोप लगाएका छन्।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन्।
यसलाई टक्कर दिन रुसले इन्धन कटौती गरिरहेको छ। पेट्रोलियम पदार्थ र ग्यासका लागि युरोप रुसमा निर्भर रहँदै आएको छ।