सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनावृष्टिले सुदूरपश्चिमको अन्न भण्डारमा खडेरी पर्ने चिन्ता

२०७९ असार ५, ०५:४४ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः समयमै पानी नपर्दा सुदूरपश्चिमका लागि अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरका खेत बाँझै रहेका छन्। अधिकांश स्थानमा खोलाको पानी तानेर रोपिएको बेर्ना पनि सिँचाइ नहुँदा मर्न थालेको छ। पानी नपर्दा किसानले धान रोपेका छैनन्। यस्तै मौसम हो भने खेत बाँझै रहने र आगामी वर्ष खाद्यान्नमा समस्या हुने किसानको गुनासो छ। मनसुनमा वर्षा नभएका कारण धान उत्पादक किसानहरू खडेरी पर्ने चिन्तामा उनीहरु छन्।  

पानी नपर्दा रोपाइँ गर्न नसकिएको कैलारी गाउँपालिका वडा नम्बर ६ का किसान चुनिलाल चौधरी गुनासो गर्छन्। ‘डेढ विघा जमिनका लागि धानका बेर्ना राखेको १ महिनाभन्दा बढी समय भइसकेको छ। बेर्ना सुक्न थालिसकेको तर रोपाइँका लागि पानी परेको छैन’ उनले भने, ‘गत वर्ष बाली भित्र्याउने समयमा बेमौसमी वर्षाले सबै धान सखाप गर्‍यो। यसपालि पानी नपरेर बेर्ना समेत मर्न थालेको छ।’

उता सिँचाईको सुविधा पुगेको पहाडी जिल्लामा मात्रै रोपाइँ भइरहेको छ। तर, आकाशे वर्षाको भरमा रोपाइँ हुने स्थानका किसानलाई भने खेत रोप्ने चिन्ता नै देखिएको कृषि विकास निर्देशनालय डोटीका सूचना अधिकारी केशवराज पाण्डेयले बताए। ‘धान रोपाइँका लागि एक महिनाअघि नै बेर्ना राखेका किसानलाई बढी समस्या हुने देखिन्छ’ उनले भने, ‘ढिलोगरी बेर्ना राखेका किसानलाई भने अझै समय भएकाले खासै समस्या हुने देखिदैन।’

प्रदेशभित्र कूल एक लाख ८१ हजार ३ सय ९६ हेक्टरमा बर्खे धानखेती हुने गरेको छ। धान उत्पादनका मुख्य दुई जिल्ला कैलालीमा ७२ हजार ५ सय र कञ्चनपुरमा ४८ हजार ४ सय ९० हेक्टरमा धानखेती हुन्छ। यस्तै पहाडी क्षेत्रका डोटी, डडेल्धुरा, बाजुरा, बैतडी, बझाङ र दार्चुलामा गरी झण्डै ६० हजार ४ सय ६ हेक्टरमा धानखेती हुन्छ। 

प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन ५ लाख ८६ हजार ३ सय ५३ मेट्रिकटन र उत्पादकत्व ३ दशमलब २३ मेट्रिक टन प्रतिहेक्टर छ। सबैभन्दा बढी धान उत्पादन कैलालीमा ३ लाख तीन हजार ६ सय ९५ मेट्रिकटन हुने गरेको छ। 

तर, कूल खेतीयोग्य जमिनको झण्डै ५४ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइको सुविधा पुगेको छ। बाँकी क्षेत्रफलमा भने किसान आकाशे वर्षाको भरमा रोपाइँ गर्न बाध्य भएको कृषि विकास निर्देशनालयका सूचना अधिकारी पाण्डेयले बताए। 
चालु आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिममा ४ लाख ४१ हजार ९ सय १३ मेट्रिकटन धान मात्र उत्पादन भएको तथ्यांक छ। धानबाली भित्र्याउने समयमा आएको बेमौसमी वर्षाका कारण धान उत्पादनमा ३१ दशमलव ४९ प्रतिशतले कमि आएको थियो।  

कमेन्ट लोड गर्नुस