सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड भिडियो डकुमेन्ट्री प्रतियोगिता हुने, विजेताले पाउँनेछन् ६० हजार 

२०७९ असार २, ०५:४३ खबर संवाददाता

डोटी: खप्तडको प्रचारप्रसार गर्न भिडियो डकुमेन्ट्री प्रतियोगिता हुने भएको छ। खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले असार ८ गतेभित्र भिडियो डकुमेन्ट्री पठाउन आग्रह गरेको छ। 

समितिले इमेलमार्फत समितिको कार्यालयलाई भिडियो डकुमेण्ट्री पठाइसक्नु पर्ने बताएको छ।  अंग्रेजी वा नेपाली भाषामा तयार गरिएको भिडियो डकुमेण्ट्री बढीमा ७ मिनेटको हुनु पर्ने बताइएको छ। भिडियो डकुमेन्ट्रीमा खप्तड क्षेत्रको सौन्दर्य, प्राकृतिक तथा जैविक विविधता, ऐतिहासिकता, साँस्कृतिक तथा धार्मिक महत्व झल्किने हुनुपर्ने समितिको कार्यालयले जनाएको छ।

उत्कृष्ट भिडियोलाई ६० हजार रुपैयाँ नगद पुरस्कार दिइने समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले जानकारी दिए।  डकुमेन्ट्री प्रतियोगितासँगै फोटो प्रतियोगिता, निवन्ध र कविता प्रतियोगिता समेत आयोजना गरिने खड्काले बताएका छन्। निबन्ध र कविता प्रतियोगितामा पहिलो हुनेलाई जनही २० हजार रुपैयाँ र दोस्रो हुनेलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

यस्तै फोटो प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। दोस्रो हुने फोटोलाई १२ हजार, तेस्रोलाई १० हजार, चौथोलाई आठ हजार र पाँचौंलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था गरिएको कार्यकारी निर्देशक खड्काले बताए।
 

कमेन्ट लोड गर्नुस