सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भएको दुर्घटनाले यसरी खोल्यो नक्कली नोट छाप्नेको पोल

२०७९ असार २, ०१:१४ आशिष मल्ल

धनगढी: बुधबार साँझ कैलालीको धनगढी उपमहानगरपालिकामा एउटा दुर्घटना भयो। उपमहानगरको वडा नम्बर ३ स्थित माया मेट्रो अस्पताल नजिकै लु८५प ५१८४ नम्बरको मोटरसाइकलले एकजना साइकल यात्रीलाई ठक्कर दिएको थियो।

धनगढी गाउँ बस्ने १८ वर्षीय अनुराग रानाको मोटरसाइकलले हसनपुर बस्ने १६ वर्षीय टेकबहादुर छेडाललाई ठक्कर दिँदा दुवै घाइते भए। दुवैलाई उपचारका लागि माया मेट्रो अस्पताल लगियो। दुवैको हात र खुट्टामा चोट लागेता पनि अवस्था सामान्य भनिएपछि करिब ८ बजे उनीहरुलाई अस्पतालले डिस्चार्ज गर्‍याे। 

डिस्चार्ज भइसकेपछि मोटरसाइकल चालक अनुराग उपचारको रकम तिर्न काउन्टर गए। तर, उनले दिएको एउटा हजारको नेपाली नोट नक्कली रहेको खुल्यो। त्यसपछि तुरुन्तै प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको कमाण्डमा खटिएको टोलीले अनुरागलाई नियन्त्रणमा लियो। केही दिनअघिमा मात्रै धनगढीको हाटबजारमा नक्कली नोट फेला परेको हुँदा प्रहरी चनाखो थियो।  अनुरागलाई नियन्त्रण लिएर प्रहरीले सोधपुछ गर्दा उक्त नक्कली नोट मामा नाता पर्ने रामदास रानाले दिएको भन्ने खुल्यो। उक्त जानकारी पाएपछि प्रहरीले ‘एक्सन’ लिन अबेर गरेन। 

धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ घर भएका रामदासको बी युनिक फोटो स्टुडियोमा प्रहरीले छापा हान्यो। २१ वर्षीया रानाको फोटो स्टुडियोमा नक्कली नोट छाप्ने ‘मिनी कारखाना’ रहेको पोल खुल्यो। उनको  फोटो स्टुडियोबाट नक्कली नोट छाप्न प्रयोग भएको कम्प्युटर, एक थान हजारको नक्कली नोट तथा थुप्रै मात्रामा बिग्रेका नक्कली नोटहरु समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  

प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रानाले छापेका नक्कली नोट बजारसम्म नपुगेको खुलेको छ। उनीमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जोशीले बताए। 

कैलालीमा छ्यापछ्याप्ती नक्कली नोट
धनगढीमा जेठ २० गते शुक्रवार मात्रै ३८ थान नक्कली नोटसहित ३ जना पक्राउ परेका थिए। उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको थियो।  

पक्राउ परेकाहरु उपमहानगरपालिका–७ बस्ने ३५ वर्षीया सुमित्रा राना, वडा नम्बर ८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र वडा नम्बर २ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका–१४ की २७ वर्षीया रितु चौधरीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ।

यस्तै जेठ ३० गते कैलालीको अत्तरिया बजारमा नक्कली नोट फेला परेको थियो। इलाका प्रहरी कार्यालय मालाखेती कार्यालयकै अगाडी रहेको एक किराना पसलमा १ हजारको नक्कली नोट फेला परेको थियो। 

न्यू डिके ट्रेड एण्ड सप्लायर्समा काम गर्ने सुरेन्द्र भट्टले पानी खरिद गरेको पैसा दिँदा नक्कली नोट भेटिएको थियो। त्यो नोट कहाँबाट आयो भनेर हालसम्म खुलेको छैन। यसरी कैलालीमा नक्कली नोटहरु छ्यापछ्याप्ती भेटिन थालेका छन्। एकपछि अर्को गर्दै नक्कली नोट फेला पर्न थालेपछि कैलालीका व्यापारी र सर्वसाधारणमा त्रास फैलिएको छ। 

के गर्दैछ प्रहरी ?
विगत १५ दिनको दौरानमा कैलालीका ३ स्थानबाट नक्कली नोट भेटिएपछि दिनेशखबरले प्रहरीको सक्रियता र अनुसन्धानको बारेमा कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) वेदप्रकाश जोशीलाई साधेको छ। 

उनका अनुसार यसरी छ्यापछ्याप्ती नक्कली नोट फेला परेको विषयमा प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ। ३ वटै घटनाको सम्बन्ध एकआपसमा नभएको उनले बताए।  हाटबजारबाट पक्राउ परेका अभियुक्तले नक्कली नोट सीमा पारी भारतबाट आएको भनि बयान दिएको डिएसपी जोशीले बताए। 

‘हिजो (बुधबार) पक्राउ परेका रामदास रानाले प्रिन्टरबाट नोट छापेको भेटियो। उनको गिरोह छैन। हाटबजारबाट पक्राउ परेकाहरुले सीमा पारीबाट नोट आएको बताएका छन्। हामी गम्भीर भएर लागेका छौं’ उनी भन्छन्, ‘ती नक्कली नोट बजारमा ल्याउनेहरुको टार्गेट बढी भिडभाड हुने क्षेत्र रहेका छन्। त्यसैले सबै सजग हुन जरुरी छ। कुनै शंका भएमा प्रहरीलाई सबैले खबर गर्न अनुरोध छ। प्रहरीले नक्कली नोट बजारमा ल्याउनेहरुलाई निष्कृय गर्ने प्रयास गरिरहेको छ।’ 


 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस