सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको बजेटमा कैलालीमा बनिरहेका ८ सडक पुलको काम अलपत्र

२०७९ असार १, ०३:०५ कमल सावद

धनगढीः निर्माण सामग्रीको मूल्यवृद्धि भएको भन्दै निर्माण व्यवसायीहरु आन्दोलनमा छन्। जिल्ला दरभाउभन्दा निर्माण सामग्रीको मूल्य बढी भएको भन्दै उनीहरुले काम अलपत्र छाडेका छन्। 

निर्माण व्यवसायीको आन्दोलनका कारण सुदूरपश्चिम सरकारले कैलालीमा निर्माण थालेका ८ पुल अलपत्र छन्। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कैलालीका इन्जिनियर नवल रावलले जिल्लामा १० सडक पुलमा २ पुल निर्माणको काम पूरा भएको र ८ पुल अझै बाँकी रहेको बताए। उनका अनुसार निर्माण कम्पनीले पुल निर्माणको काम सुचारु गर्न मानिहरेका छैनन्। 

गौरीगंगा नगरपालिका वडा नम्बर ५ जोड्ने सडक पुल, गौरीगंगाकै चौमाला पुरानो बजार जोड्ने पुल, कैलारी गाउँपालिकाको सुर्मी नालाको पुल, चाक्लीखोला पुल, जोशीपुर गाउँपालिकाको घैला नालाको पक्की पुल र चिसापानी–सोल्टा सडकमा रहेका २ पुल निर्माणको काम अलपत्र छोडिएको रावलले बताए। 

पुल निर्माणको काम अलपत्र छाडिएका बेला पुनः नयाँ पुल ठेक्काको प्रक्रिया थालिएको छ। प्रदेश सरकारको लगानीमा १० नयाँ सडक पुल निर्माणका लागि ठेक्काको प्रक्रिया थालिएको हो। प्रदेश सरकारले न्यून बजेट विनियोजन गरेकाले बजेटको शुनिश्चितता गर्दै आगामी आर्थिक वर्षबाट काम सुरु गर्नेगरी ठेक्का प्रक्रिया थालिएको इन्जिनियर रावलले बताए। उनले एक पुल बाहेक सबैको ठेक्काको प्रक्रिया थालिएको बताए।

जिल्लाको मस्य–जोरायल ठुलीगाड पुलको भने ठेक्का प्रक्रिया सुरु भएको छैन। केही पुल निर्माणका लागि निर्माण कम्पनीले बोलपत्र खरिद समेत गरेका छैनन्। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस