सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्बौंको क्षति भएको ८ महिनासम्म पाएनन् कैलाली–कञ्चनपुरका किसानले राहत

२०७९ जेठ ३०, ०७:२२ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः ०७८ कात्तिक पहिलो साताको बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरमा धानबालीमा मात्र ३ अर्ब ७६ करोडको क्षति भयो। भित्र्याउने बेला धान खेतीमा भएको क्षतिले किसान निकै पीडित भए। सरकारले तत्काल किसानलाई राहत दिने घोषणा पनि गर्‍यो।

त्यसैअनुसार जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण संकलन गरेर समेत पठायो। सोअनुसार राहत वितरणका लागि झन्डै एक अर्ब रुपैयाँ आवश्यक थियो। तर सरकारले कैलालीका लागि करिब २२ करोड र कञ्चनुरका लागि १० करोड मात्र रकम पठायो। तर राहतका लागि पीडित किसानले तीनतिर हारगुहार गर्दा पनि सुनुवाई भएको छैन।

५ बिघा केरा र ६ बिघा क्षेत्रफलमा लगाएको धानबाली पुरै वर्षाका कारण नष्ट भएपछि राहतका लागि फारमसमेत भर्न नपाएको कञ्चनपुरको कृष्णपुरका युवा कृषि उद्यमी हरेन्द्र बोहराले गुनासो गरे। ‘केरा र धानबालीमा गरी १४ लाख बराबरको क्षति भयो,' उनले भने, 'सरकारले दिने भनेको १० हजार मात्र। यसका लागि पहल गरेर समय खेल फाल्नुपर्ने मन लागेन। राहतका लागि फारम भरेका कसैले पनि अहिलेसम्म सरकारी राहत पाउन सकेका छैनन्।’

सरकारले क्षतिका आधारमा साना किसान १० कट्ठासम्मलाई क्षतिको ६५, मध्यम किसान ३ बिघासम्मलाई ३० र ठूला किसान ३ बिघाभन्दा बढीलाई २० प्रतिशत राहत उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसैअनुसार जिल्लाका सबै पालिकाबाट विवरण संकलन गरेर राहतका लागि आवश्यक रकम मागिएको थियो। राहत वितरणका लागि ५९ करोड ८१ लाख रकम गरिएको कञ्चनपुर प्रशासनले जनाएको छ। तर माग गरेभन्दा निकै कम रकम आएपछि आएको रकमको प्रतिशत र क्षतिको विवरणका आधारमा राहत वितरणको योजना बनाइएको थियो।

कैलालीमा ६८ हजार किसानको लगत संकलन भएर जिल्ला प्रशासनले करिब २२ करोड रुपैयाँ प्राप्त गरेकोमा अहिलेसम्म सो रकम किसानको हातमा भने परेको छैन्। धानबालीमा क्षति व्यहोरेका ६८ हजार किसानको लगत संकलन गरेर करिब एक अर्ब रुपैयाँ माग गरिएकोमा करिब २२ करोड मात्र आएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए। ‘किसानका लागि आएको रकम बैंक खाताबाट पठाउन खाता नमिल्ने हो की भनेर सम्बन्धित पालिकाहरुहरुलाई नै रकम पठाएर किसानले बुझेको रकमको भौचर प्रशासनमा पठाउने गरी छलफल भएर पालिकाहरुमै रकम पठाउने तयारी भइरहेको छ,’ उनले भने।

कैलाली र कञ्चनपुरमा धान, तोरी, आलु, तरकारी, केरा र उखु खेतीमा बेमौसमी वर्षाले क्षति पु¥याएको थियो। सबैभन्दा बढी धान खेतीमा ३५ प्रतिशत क्षति पुगेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ। धानमा मात्रै ३ अर्ब ७३ करोडको क्षति भएको छ। तरकारी र अन्य क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ। क्षति विवरणअनुसार किसानले क्षति भएको एक वर्ष पुग्नै लाग्दा समेत राहत पाउन नसकेको किसानको गुनासो छ।

'बैशाखसम्म किसानको खातामा रकम पठाउने समयसीमा थियो, तर त्यो समय सकिएको छ, पुनः म्याद थप गरिएकाले मापदण्डअनुसार कागजात पुगेका किसानलाई राहत दिन तयारी भइरहेको छ,' कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भने, ‘कञ्चनपुरले करिब ६० करोड माग गरेको थियो, तर १० करोड मात्र प्राप्त हुँदा थोरथोरै भए पनि वितरण गर्ने तयारी भइरहेको छ।’

केन्द्र सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड स्वीकृत गरेको लामो समय वितिसक्दा पनि किसानले भने अहिलेसम्म राहत पाउन सकेका छैनन्।

कमेन्ट लोड गर्नुस