बर्खा लाग्न थाल्यो, धनगढी उपमहानगरसँग छ त डुबान समाधानको योजना ?
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका हरेक वर्ष डुब्छ। खोलानाला, ताल तथा सार्वजनिक जग्गा अतिक्रमण गरिएकाले उपमहानगरमा हरेक वर्ष डुबान हुँदै आएको हो। पानीको बहाव रोक्नेगरी भौतिक संरचना निर्माण हुँदा डु्बानको समस्या झनै बढेको छ। तर, धनगढी उपमहानगरपालिकासँग भने डुबान समस्या दीर्घकालिन रुपमा समाधान गर्ने योजना छैन।
उपमहानगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले डुबान समस्या समाधानका लागि ठोस योजना अझै तयार नभएको बताए। तर नाली सफाइको काम जारी रहेको उनले जानकारी दिए। ‘अहिले नाली सफाइ भइरहेको छ। केही समस्या समाधान हुन्छ। दीर्घकालीनका लागि आन्तरिक गृहकार्य भइरहेको छ’ उनले भने।
धनगढीको डुबान समस्या समाधानका लागि खोला तथा नालाहरुको अतिक्रमण हटाउने निर्णय भएको ६ वर्षभन्दा बढी भइसकेको छ। अतिक्रमित क्षेत्र खाली गर्न कैलाली खोलाको केही क्षेत्रमा रेखांकन पनि गरिएको छ। तर, संरचना हटाउने कामको थालनी भने भएको छैन।
अहिले नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि उपमहानगरपालिका सडकका नाली सफाइमा केन्द्रीत देखिएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठका अनुसार वडाध्यक्ष तथा वडाकार्यलहरुलाई नाली सफाइका लागि भनिएको छ। ‘प्रत्येक वडाका वडाध्यक्ष र वडा कार्यालहरुलाई आफ्नो वडाका नाली सफाइ गर्न भनेका छौ,’ श्रेष्ठले भने, ‘उहाँहरुले प्राविधिक कामहरु गर्दै हुनुहुन्छ। हाम्रो स्रोत साधनले सम्भव नभए वडाबाटै भुक्तानी दिने गरेर व्यवस्थापन गर्नुहोस भनेका छौं।’
धनगढीको विशालनगर क्षेत्रमा जम्मा हुने बर्सातको पानी भने मोहना नदीमा खसाल्नका लागि काम भइरहेको छ। उपमहानगरपालिकाको वडा नम्बर ३ को नेश्नल चोकदेखिको पानी मोहना नदीमा खसाल्न २० लाखको लागतमा उपभोक्ता समितिले पाइप बिछ्याउने काम गर्दै आएको वडाअध्यक्ष राजबहादुर ऐरले बताए। केही दिनभित्र काम पूरा हुने उनको दाबी छ।
क्षणभरको वर्षामै धनगढीको मुख्य सडक नै जलमग्न हुँदा आवतजावतमा समस्या हुँदै आएको छ। धनगढीमा सबैभन्दा बढी एलएनचोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहरीलगायतका क्षेत्रमा डुबानको समस्या हुने गर्दछ।