सुदूरपश्चिममा कहिले सुरू हुन्छ मनसुन ? यस्तो छ विपद् व्यवस्थापनको तयारी
धनगढी : नेपालमा आइतबार नै मनसुन भित्रिए पनि सुदूरपश्चिम प्रदेशमा भने अझै मनसुन सक्रिय हुन केही दिन लाग्ने भएको छ।
प्रदेशमा मनसुन सुरु नहुँदा तराइका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गर्मी अत्यधिक बढेको छ। गर्मीले दुई जिल्लाका बासिन्दाको जनजीवन प्रभावित भएको छ। मौसम विभागले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारभन्दा अगाडि मनसुन सक्रिय हुन सक्ने सम्भावना कम रहेको जनाएको छ। तर सोमबारपछि भने बिस्तारै मनसुन सक्रिय भएर पानी पर्न सक्ने अनुमान रहेको मौसमविद् हिरा भट्टराईले बताए।
‘पूर्वी नेपालबाट मनसुन मुलुकमा भित्रिइसकेको छ,’ उनले भने, ‘कर्णाली र सुदूरपश्चिममा भने सोमबारपछि मात्रै मनसुन सक्रिय हुने अनुमान छ।’ सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष अत्यधिक मनसुनी वर्षाको कारण बाढीपहिरो, डुबान र कटान हुने गरेको छ।
गएको मनसुनी वर्षापछि आएको बाढी र पहिरोका कारण सुदूरपश्चिममा ५५ जनाले ज्यान गुमाएका थिए भने २६ जना बेपत्ता र १ सय २७ जना घाइते भएको सरकारी तथ्याङ्क छ। विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अभावमा कुनै पनि घटना घटेपछि उद्धार तथा राहतमा लाग्नुपर्ने तर जोखिम तथा क्षती न्यूनीकरणका लागि काम हुन् नसक्ने अवस्था रहेको देखिन्छ।
तर यो पटक भने प्रदेश सरकारले विगतमा भएका कमजोरीबाट पाठ सिक्दै र सबै जिल्लाको तथ्य र तथ्याङ्कको विश्लेषण गर्दै प्रदेश विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ लाई अन्तिम रुप दिन लागेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विश्वदिप वेस्राले बताए।
‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना मन्त्रालयलेृ बनाउँदै छ,’ उनले भने, ‘विगतको कमजोरीबाट पाठ सिक्दै सबै तथ्य र तथ्यांकको विश्लेषण गर्ने काम भइरहेको छ। असारको दस गतेसम्म प्रतिकार्य योजना बनाइ सक्छौँ।’ प्रदेश सरकारले विभिन्न ५ क्लस्टरमा तथ्याङ्क सङ्कलन भइरहेको जनाएको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा, भौतिक पूर्वाधार विकास मन्त्रालयले खानेपानी, सरसफाइ र पूर्वाधार, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले खाद्य सुरक्षा र पोषण, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले शीघ्र पुनरलाभको व्यवस्थापन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खोज, उद्धार, आपतकालीन सञ्चार र बन्दोबस्ती र अन्य सरोकारवाला पक्ष र निकायसँग समन्वय गर्ने हिसाबले विपद पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ तयार गर्न लागेको र विपद व्यवस्थापनका लागि सरोकारवाला पक्षका लागि पूर्वाभ्यास, तालिम र स्रोत व्यवस्थापन गरेर विपद न्यूनीकरण गर्न आवश्यक सबै तयारी गरिने प्रवक्ता बेस्राले बताए।
गएको मनुसनमा सुदूरपश्चिममा विभिन्न विपद्का घटनाबाट ६ सय ६० परिवार प्रभावित भएका थिए। प्रदेशभर विपद्का कारण २ सय ९५ घर पूर्ण रुपमा र १४३ आंशिक क्षती पुगेको थियो। प्रदेशभर गएको मनसुनी वर्षापछि आएको बाढी, पहिरोका कारण करिव ११ करोडको क्षती भएको अनुमान गरिएको थियो।