अछाममा शाही मृत्यु प्रकरणः जिल्लामा लगातार आन्दोलन, विनायक क्षेत्र तनावग्रस्त
धनगढीः अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा १५ वर्षीय किशोर विनोद शाही मृत फेला परेको ५ दिनसम्म पनि शव उठाउन सकिएको छैन। विनोद शाहीको हत्या अभियोगमा ५ जना प्रकाउ परेका छन्।
यता, शाहीको मृत्यु प्रकरणलाई लिएर अनेरास्ववियु अछामले जिल्ला बन्द गरेको छ। अनेरास्ववियुले घटनाको छानविन र मुख्य दोषीलाई पक्राउ गरी हदैसम्मको कारबावाहीको लागि माग गर्दै जिल्लाका सबै क्षेत्र बन्द गराएको हो। स्थानीय तथा विद्यार्थी नेताहरु आन्दोलित बनेपछि जिल्लाका व्यवसाय, शैक्षिक संस्था, सरकारी कार्यालय र यातायात पूर्ण रुपमा बन्द रहेका छन्। बन्दका कारण सदरमुकाम मंगलसेन बजार सुनसान रहेको छ। बिहानैदेखि शैक्षिक संस्था, बजार र यातायात बन्द रहेका छन्। शाहीको न्यायका पक्षमा बन्दको आह्वान भएकाले बेलुकी ५ बजेसम्म बन्द जारी रहने अनेरास्ववियु अछामका सचिव भिम बडाहितले बताए।
यस्तै जिल्लास्थित प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिन माग गरेका छन्। नेकपा एमालेले शाहीको हत्या प्रहरी प्रशासनको बलमा नेपाली कांग्रेसका कार्यकर्ताहरूबाट भएको आरोप लगाएको छ भने नेपाली कांग्रेसले उक्त आरोपको खण्डन गरेको छ। पाँच दिनदेखि हराइरहेका शाहीको शव गाउँकै भिरमा जेठ २१ गते भेटिएको थियो। न्याय माग्दै मृतकका आफन्तले लगातार विनायकमा आन्दोलन गरिरहेका छन्। विनायक क्षेत्र झन तनावग्रस्त बन्दै गएको छ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले बुधबार प्रतिनिधिसभा बैठकमा शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका छन्। अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युबारे तत्काल सरकारका नाममा रुलिङ गर्न सभामुखसमक्ष आग्रह गरेका थिए।