सुदूर नेपाललाई विश्वसँग जोड्दै

काबुलमा ३० दिनमा २ हजार पक्राउ

२०७९ जेठ २४, ०९:०२ खबर संवाददाता

काबुलः अफगानिस्तानको राजधानी काबुलमा पछिल्लो एक महिनाको अवधिमा दुई हजार जना पक्राउ परेका छन्। प्रहरीले आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ।

राज्य सञ्चालित बख्तर समाचार संस्थाले आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकारलाई उद्धृत गर्दै अपहरण, चोरी, लागूऔषध तस्करीदेखि कार लुट्नेसम्मका ८ सय ५९ मुद्दा दर्ता भएका र करिब २ हजार जना पक्राउ परेको जनाएको छ।

तर कतिपयले भने तालिवान नेतृत्वको सरकारले राजनीतिक प्रतिशोध साध्न कतिपयलाई पक्राउ गरिएको दाबी गरेको छ। अफगानिस्तानमा अगस्त १५ मा तालिवान समूहले सत्ताकब्जा गरेपछि सरकारविरोधी गतिविधिमा संलग्न विपक्षी समूहका नेता कार्यकर्ताहरूलाई विभिन्न बहानामा पक्राउ गर्ने गरिएको अधिकारकर्मीहरूको भनाइ छ। पक्राउ परेकालाई झूटा मुद्दा लगाइएको र अनावश्यक तनाव दिने गरिएको विपक्षी समूहहरूको दाबी छ।

तर देशको अस्थिर राजनीतिक परिस्थितिको लाभ उठाउँदै विभिन्न आपराधिक समूहहरू सक्रिय भएको सरकारी अधिकारीहरूको दाबी छ। प्रहरीले पक्राउ परेकामध्ये अधिकांश आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गर्दै अनुसन्धान भइरहेको बताइएको छ। तालिबान सरकारले महिला अधिकारमाथि बन्देज लगाएपछि पश्चिमा देशले कडा आलोचना गर्दै अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको विकास सहयोगमा भारी कटौती गरेका छन्।

कमेन्ट लोड गर्नुस