धनगढीका सडकमा निर्माण सामग्री राख्ने क्रम रोकिएन, के गर्दैछ उपमहानगर ?
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका बुद्ध चोकदेखि उत्तर कैलाली बहुमुखी क्याम्पस जाने सडकको करिब ८ सय मिटरभित्र १२ ठाउँमा विभिन्न व्यक्तिले निर्माण सामग्री थुपारेको देखिन्छ। त्यो सडकको दायाँ–वायाँ बालुवा, इटा, गिट्टी, बाँस र काठ राखिएको छ। निकै व्यस्त रहने त्यो सडकमा निर्माण सामग्री थुपार्ने प्रतिस्पर्धा नै चलेको सडक प्रयोगकर्ताले बताएका छन्।
सार्वजनिक सडकमा जथाभावी निर्माण सामग्री थुपारेर दुर्घटनाको जोखिम बढेकोले सडक खाली गराउन सम्बन्धित निकायको ध्यान जानुपर्ने बुद्ध चोकमा भेटिएका विनोद जोशीले बताए। ‘धनगढीमा मुख्य सडकदेखि भित्री सडकमा मनलाग्दी निर्माण सामग्री थुपार्ने गरिएको छ’ उनले भने, ‘पैदल यात्री, साइकल र मोटरसाइकल यात्रीलाई सडक प्रयोग गर्न निकै समस्या हुने गरेको छ। सडकमा निर्माण सामग्री राख्न नदिन सम्बन्धित निकायको ध्यान जानुपर्छ।’
धनगढीमा मुख्य सडकदेखि भित्री सडकमा निर्माण सामग्री राखिएको, गाडी पार्किङ गरिएको, ग्यारेजको काम सडकमै गरेको, पसल सडकमा नै थापेको देख्नु सामान्य हुन थालेको छ। यातायातका साधन र पैदल यात्रीले हिड्न असहज हुने गरि सडकमा अनाधिकृत रुपमा निर्माण सामग्री राख्नु र पसलको सामान राख्नुले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहले उपमहानगरपालिकासँग समन्वय गरेर सडकमा निर्माण सामग्री राख्ने अभ्यासको अन्त्य गर्ने बताए। ‘धनगढीमा सडकमा निर्माण सामग्री राख्ने, पसल थाप्ने अभ्यास अझै रोक्न सकिएको छैन, जसले गर्दा दुर्घटनाको जोखिम हुन्छ’ उनले भने।
उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै सडकमा ठेला नराख्न, पसलको सामान नराख्न, निर्माण सामग्री र सवारी साधन पार्किङ नगर्न भन्दै माइकिङ गरिएको थियो। त्यो सूचनाको कार्यान्वयन भए नभएको अनुगमन उपमहानगरले नगर्दा साँघुरा सडक दुर्घटनाको कारण बन्ने चिन्ता नगरवासीले गरेका छन्।
तर वडा नम्बर ७ का अध्यक्ष मोति रानाले सडकमा निर्माण सामग्री थुपार्ने समस्या हटाउन उपमहानगरले ठोस योजनासाथ काम गर्ने मनसाय बनाएको दाबी गरेका छन्। ‘हाम्रो कार्यपालिकाको बैठकमा पनि सडकमा निर्माण सामग्री राख्ने, गाडी पार्किङ गर्ने समस्या हटाउने कुरा उठेको छ’ उनले भने, ‘केहि दिनमै यो समस्या समाधान गर्न ठोस योजना उपमहानगरपालिकाले ल्याउँछ।’ तर सर्वसाधारणले भने धनगढी उपमहानगरपालिकाले माइकिङ गरेर मात्रै कर्तव्यबाट उम्किन खोजेको पो हो की भन्ने आशंका गरेका छन्।
धनगढीका सडकमा निर्माण सामग्री थुपार्दा सडक भत्किने, धुलो उड्ने र विपरीत दिशाबाट आउने सवारीको कारण पैदलयात्री, साइकल र मोटरसाइकल यात्रीले डराएर सडक प्रयोग गर्नुपर्ने अवस्था छ।