सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली, कञ्चनपुरको सीमामा एकलौटी नाली निर्माण गरी तारबार गर्ने भारतको तयारी

२०७५ फाल्गुन ४, ०२:२८ जनक विष्ट

नेपाल भारत सीमा अन्र्तगत कञ्चनपुरको पुर्नवास नगरपालिका ११ डोकेबजार क्षेत्रमा एकलौटी नाली खनिरहेको भारतले कैलालीको शिवरत्नपुरमा  झण्डै दुई किलोमिटर क्षेत्रमा नाली निर्माण गरेको छ। दुधुवा राष्ट्रिय निकुञ्ज समेत पर्ने सो क्षेत्रमा भारतले गत माघमा नाली खनेको स्थानीयले बताएका छन्। कैलारी गाउँपालिका वडा नम्बर ३ मा पर्ने शिवरत्नपुर गाउँका भलमत्सा राम प्रसाद चौधरीका अनुसार भारतीय वनका कर्मचारीले डोजर लगाएर नाली खनेको बताए। उनका अनुसार वनका कर्मचारीले निकुञ्ज क्षेत्रका जीवजन्तुको संरक्षण र जनावरको प्रवेश रोक्न नाली निर्माण गरिरहेको जनाएका थिए भने त्यसपछि तारवार गर्ने समेत बताएका थिए।

यसअघि भारतीय वन विभागका कर्मचारीलाई मासिक दुई सय रुपैया भारु तिरेर घाँस दाउरा र दशगजा क्षेत्रमा वस्तुभाउ चराउदै   आएका शिवरत्नपुरका बासिन्दा भारतले सीमामा तारवार गर्ने भनेपछि चिन्तित भएका छन्। अर्कोतीर भारतले निर्माण गरेको नालीले वर्षातका बेला बस्ती डुबानको खतरामा पर्ने सम्भावना बढ्दै गएको छ। 

वडा नम्बर ३ का वडा सदस्य भागीराम चौधरीले नालीका कारण पानी निकास बन्द भएर डुबानको खतरा बढेको बताए। दुवै देशको सहमतीमा मात्र सीमा क्षेत्रमा कुनै पनि निर्माण कार्य अगाडी बढाउनुपर्ने भएपनि भारतले नेपालका कुनै पनि निकायलाई जानकारी नदिएर नाली निर्माण गरेको हो। तर यस विषयमा नेपालको प्रशासनिक निकायले पनि मुख खोलेका छैनन्। कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले नाली निर्माण भएको क्षेत्रको स्थलगत अनुगमनका लागि सशस्त्र प्रहरीको टोली शनिबार त्यसतर्फ गएको जानकारी दिए। स्थलगत अनुगमन पछि सशस्त्र प्रहरीले बुझाउने रिर्पोटका आधारमा अगाडी बढ्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए। 

यता कञ्चनपुरको पुर्नवासको डोकेबजार क्षेत्रमा पनि भारतले नाली निर्माणको काम गरिरहेको छ। सीमामा एकलौटी नाली खनेको भन्दै स्थनाीयले विरोध जनाएपछि केही दिन काम रोकेकोमा फेरी नाली निर्माण गरिएको हो। केही दिन पहिले कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट र भारतीय पक्षबिच भएको छलफलका क्रममा तत्काललाई काम रोकेर दुवै पक्षबिचको छलफलपछि काम अघि बढाउने समझदारी भएको थियो तर  भारतले उक्त समझदारी विपरीत नाली निर्माण गरेको हो। निमित्त प्रमुख जिल्ला अधिकारीसँगको भेटमा पनि भारतले सीमामा नाली निर्माण गरी तारवार गर्ने भनेको थियो।

विष्टले छलफलका क्रममा भारतीय पक्षले निकुञ्ज क्षेत्रबाट काठ दाउरा तथा वन्यजन्तु चोरी सिकारी बढेकाले नियन्त्रण गर्न दुई किलोमिटर क्षेत्रमा नाली निर्माण गरेर तारबार गर्ने योजना रहेको उल्लेख गरेको बताए। माथिल्लो निकायबाटै समाधान हुने समस्या भएका कारण गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नापी विभाग लगायतका निकायमा सीममा भारतले नाली खनिरहेको विषयमा जानकारी गराइसकिएको विष्टले बताए। तर संघिय सरकार पनि यस विषयमा बोलेको छैन्। 
 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस