सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम आक्रमणको १७ वर्ष: अछामको प्रगतीका लागि बाधक बनेको दिन

२०७५ फाल्गुन ४, १२:२१ खबर संवाददाता

तत्कालीन विद्रोही नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो आक्रमण मानिएको अछाम आक्रमणको आज १७ बर्ष पुगेको छ। २०५८ फागुन ४ गते राती जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगरमा आक्रमण भएको थियो। आक्रमणमा सो समयका प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री मारिए। पत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षकको मृत्यु भयो। क्याप्टेनसहित ५३ जना सेना मारिए भने तत्कालीन शाही नेपाली सेनाको मंगलसेन गुल्म सखाप भएको थियो। ५९ प्रहरी, निजामतीका दुई र सर्वसाधारण आठ गरी मंगलसेनमा एक सय २२ को ज्यान गएको थियो। माओवादीले साँफेबगरमा समेत सोही रात आक्रमण गरेको थियो। विमानस्थल सुरक्षा गार्ड साँफेबगरमा कार्यरत २७ जना प्रहरी पनि त्यसै राति मारिएका थिए। 
आक्रमणबाट ऐतिहासिक अछाम दरबारसहित सम्पूर्ण सरकारी कार्यालय ध्वस्त भएका थिए भने ध्वस्त बनेको करिब १७ वर्ष र पुनःनिर्माण सुरु भएको ११ बर्षसम्म पनि दरबार निर्माणको काम अधुरै रहेको छ। पुरानै स्वरुपमा पुनःनिर्माण गर्ने भनि काम थालिए पनि जिम्मा लिने ठेकेदारको लापरबाहीले दरबार अझैँ अधुरै छ। 
पहुँच भएकाहरुले केहीले बैंकमा राखेको नगद र गरगहना फिर्ता पाए पनि कतिपय सर्वसाधारणले अझै फिर्ता पाएका छैनन्। १७ वर्षको अवधिमा मंगलसेनको भौतिक स्वरूप फेरिए पनि नागरिकलाई भने सास्ती थपिएको छ। बजारभन्दा एक घण्टामाथि डाँडामा अधिकांश सरकारी कार्यालयका नयाँ भवनहरू निर्माण भएका छन्। अछाम आक्रमण नै अछाम र अछामीको प्रगतिको लागि प्रमुख बाधक बनेको जिल्लावासी बताउँछन्।

कमेन्ट लोड गर्नुस