पाकिस्तानमा एकैपटक ३० रुपैयाँले बढ्यो पेट्रोलको मूल्य
एजेन्सी: पाकिस्तानमा पेट्रोलको मूल्य आकासिएको छ। पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले एकपटक पेट्रोलको मूल्यमा ३० रुपैयाँ प्रति लिटरको वृद्धि गर्ने निर्णय गरेका छन्।
अब पाकिस्तानमा एक लिटर पेट्रोल २०९.८६ रुपैयाँ तोकिएको छ। अघिल्लो हप्ता मात्रै पाकिस्तानले पेट्रोलको मूल्यमा ३० रुपैयाँ वृद्धि गरेको थियो। पाकिस्तान अन्तरराष्ट्रिय मुद्रा कोष अर्थात् आइएमएफबाट ऋण लिनका लागि उसले कडा शर्त पूरा गर्ने कोसिसमा मूल्य वृद्धि गरिरहेको छ।
यसबाहेक पाकिस्तान इलेक्ट्रिक पावर रेग्युलेटरी अथोरिटीले बिजुली महसुल महँगो गर्दै ७.९१ रुपैयाँ प्रति युनिटको वृद्धि गरेको छ। पाकिस्तानमा डिजेल अब २०४.१५ प्रति लिटर छ भने मट्टीतेलको मूल्य १९१.९४ प्रति लिटर पुगेको छ।पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले यी निर्णयले महँगी बढ्ने र मानिसलाई समस्या पनि पार्ने बताउँदै मुलुकलाई गरिबीबाट जोगाउनका लागि यो आवश्यक भएको बताएका छन्।
पाकिस्तानी अर्थमन्त्रीले अघिल्लो सरकारको गल्तीका कारण पाकिस्तान गरिबीतर्फ धकेलिएको र यसलाई रोक्न कठोर निर्णय लिनुपरेको बताए। पाकिस्तानी अर्थमन्त्रीले अघिल्लो सरकारको गल्तीका कारण पाकिस्तानले पेट्रोलमा दिइने अनुदानको रुपमा प्रतिमहिना १२० देखि १३० अर्ब रुपैयाँ घाटा बेहोर्दै आएको बताए। नयाँ मूल्यले अनुदानमा मासिक २५ अर्ब रुपैयाँ घटाउने मिफ्ताहले बताए।
आगामी महिनाहरूमा पाकिस्तानमा धेरै विदेशी ऋण दायित्वहरू छन्। यस्तो अवस्थामा आईएमएफबाट ऋण लिनुपर्ने बाध्यता छ। यदि पाकिस्तानले आईएमएफबाट ऋण नपाएमा डिफल्टर हुने खतरा छ। मिफ्ताह इस्माइलले मे २८ मा चीन, युएई र साउदी पाकिस्तानलाई ऋण दिन उदार भएको बताएका थिए तर अहिले यी तीन देशले पनि पहिले आइएमएफमा जानुपर्छ भन्दै आएका छन्।