कञ्चनपुरका तत्कालीन कृषि परियोजना प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
धनगढीः कञ्चनपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धान जोनका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ। कर्मचारीको मिलोमितोमा झण्डै ६६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो। आयोगले गत साता चार जनाविरुद्ध काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।
गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो। कर्मचारी र सहकारी अध्यक्षले आफूखुसी कृषि सामग्री खरिद गरी अस्वाभाविक बढी मुल्याङ्कन गरि आर्थिक अनियमितता गरेको ठहर आयोगको छ। आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धानजोन कन्चनपुरका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत टंकप्रसाद रिजालसहित ४ जनाले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धानजोन कन्चनपुरका कार्यालय प्रमुख बरिष्ठ कृषि अधिकृत रिजालले कृषि सामाग्री ३ वटा ट्रयाक्टरहरको अस्वाभाविक बढी मुल्यको कोटेशन तयार गरी सोबापत १६ लाख ३५ हजार बढी मुल्यमा ट्रयाक्टरहरु खरिद गरेको ठहर आयोगको छ। मालसामान खरिद गर्दा गुणस्तरहीन, म्याद नाघेको र अस्वाभविक बढी मुल्य तिरी खरिद गराएको कसुरमा बिगो रकम सोह्र लाख पैंतीस हजार रुपैयाँ कायम मागदावी सहित मुद्धा दायर गरिएको छ।