प्रधानमन्त्री देउवाको पालिकालाई यसपालि पनि सबैभन्दा कम बजेट
धनगढी: संघीय सरकारमार्फत आगामी आर्थिक वर्ष २०७९/०८० मा प्रदेश र स्थानीय सरकारले पाउने अनुदानको विवरण आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ।
जसमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्मथलोका लागि सबैभन्दा न्यून बजेट छुट्याइएको पाइएको छ। ७ स्थानीय तह रहेको डडेल्धुरामा सबैभन्दा कम बजेट गन्यापधुरा गाउँपालिकालाई विनियोजन भएको हो।
डडेल्धुराका लागि छुट्याइएको कुल २ अर्ब ५९ करोड ७२ लाख बजेटमध्ये गन्यापधुरा गाउँपालिकाका लागि २८ करोड ९४ लाख छुट्याइएको छ। डडेल्धुरामा सबैभन्दा बढी बजेट अमरगढी नगरपालिकाका लागि ५० करोड ४४ लाख छुट्याइएको छ।
त्यस्तै परशुराम नगरपालिकाका लागि ४८ करोड ६ लाख, अजयमेरु गाउँपालिकामा ३६ करोड ९२ लाख, आलिताल गाउँपालिकामा ३२ करोड ७८ लाख बजेट छुट्याइएको छ। यस्तै नवदुर्गा गाउँपालिकाका लागि ३१ करोड ४३ लाख र भागेश्वर गाउँपालिकामा ३१ करोड १५ लाख बजेट छुट्याइएको छ।
गत आर्थिक वर्षको बजेटमा समेत सभापति देउवाको गृह पालिकामा सबैभन्दा कम बजेट छुट्याइएको थियो। गत आवमा डडेल्धुराका लागि २ अर्ब ४० करोड ८१ लाख बजेट छुट्याइएको थियो। जसमध्ये सबैभन्दा कम गन्यापधुरा गाउँपालिकाका लागि २६ करोड २८ लाख बजेट विनियोजन भएको थियो।