सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकालाई विश्व बैंकले ७० करोड दिने

२०७९ जेठ १७, ०८:०३ खबर संवाददाता

कोलम्बोः आर्थिक तथा राजनीतिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई विश्व बैंकले करिब ७० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ। विश्व बैंकका श्रीलंका प्रबन्धक चियो कान्डाले श्रीलंकाका विदेशमन्त्री जीएल पेइरिससँग सोमबारको भेटवार्तामा सहयोगको प्रतिबद्धता जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भेटका क्रममा मन्त्री पेइरिसले अन्तर्राष्ट्रिय मुद्राकोषलगायत अन्य संस्था र दातृ राष्ट्रहरूमार्फत दीर्घकालीन सहायता उपलब्ध नहुन्जेल सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेका छन्। मन्त्री पेइरिसले अर्थतन्त्रको दिगो समाधान नआएसम्म विश्व बैंकको अल्पकालीन आर्थिक सहयोगको कदर गरिने बताएको जनाइएको छ । विश्व बैंकले श्रीलंकाको अर्थतन्त्र सुधारका लागि एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र संयुक्त राष्ट्रसंघलगायतसँग काम गरिरहेको प्रबन्धक कान्डाको भनाइ छ।

दक्षिण एसियाली मुलुक श्रीलंकाले हाल स्वतन्त्रतायताकै खराब आर्थिक संकटको सामना गरिरहेको छ । विदेशी मुद्राको अभाव र मूल्यवृद्धिका कारण इन्धन, औषधिलगायत अत्यावश्यक वस्तुको अभाव चर्केको छ। विज्ञहरूका अनुसार कोरोना भाइरसको महामारीका कारण पर्यटन क्षेत्रमा परेको असर, इन्धन मूल्यवृद्धि, रुस–युक्रेन युद्ध र करसम्बन्धी सरकारको अदूरदर्शी नीतिका कारण श्रीलंकाको अर्थतन्त्र प्रभावित भएको हो। बढ्दो महँगी, खाद्यान्न अभाव र इन्धन संकटका कारण पछिल्ला दिनमा श्रीलंकामा सर्वसाधारणहरू आक्रोशित छन् । राष्ट्रपति गोटाभाय राजापाक्षको राजीनामा माग गर्दै दैनिकजसो राजधानी कोलम्बोलगायत प्रमुख सहरमा प्रदर्शन जारी छ। 

संकट गहिरिएसँगै भारतले श्रीलंकासँग सम्बन्ध सुधारका प्रयास गरिरहेको जनाइएको छ। यसअघि भारतले श्रीलंकालाई १ अर्ब ९० करोड डलर उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ । त्यस्तै, अत्यावश्यक वस्तु तथा सेवाका लागि थप १ अर्ब ५० करोड डलर दिन सकिने भारतको भनाइ छ।-एजेन्सी

कमेन्ट लोड गर्नुस