कैलालीको विष्ट सपिङ मार्टले कुमारी बैंकका कार्डवाहक ग्राहकलाई सेवामा छुट दिने
कैलालीः कैलालीको लम्कीमा रहेको विष्ट सपिङ मार्टले कुमारी बैंकका कार्डवाहक ग्राहकलाई छुट दिने भएको छ। बुधबार कुमारी बैंक कैलाली रसपिङ मार्टबीच कार्डवाहक ग्राहकलाई २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो।
यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ। मार्टले कार्डवाहक ग्राहकलाई रेडिमेट सामानमा २० प्रतिशत, भान्साका सामानमा १२ र कस्मेटिक तथा उपहारका सामानमा १० प्रतिशत छुट दिने बताइएको छ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन केबीएल इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको शाखा प्रबन्धक पवन आचार्यले बताएका छन्। यस्तै मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र कार्डको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको बैंकले जानकारी गराएको छ।
कुमारी बैंकले देशैभरि फैलिएका आफ्ना १९७ वटा शाखा, १७७ वटा एटीएम र ४२ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १३ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।