सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोहरले कुरुप बन्यो डडेल्धुरा सदरमुकाम

२०७९ जेठ १७, १२:२४ खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा: डडेल्धुरा सदरमुकाममा फोहर व्यवस्थापन नहुँदा समस्या भएको छ। फोहर व्यवस्थापन गर्ने स्थानको तय नहुँदा बजार क्षेत्रका विभिन्न भाग फोहरको थुप्रोले भरिएका छन्। फोहर व्यवस्थापन गर्ने स्थान नहँुदा एक हप्तासम्म बजारको फोहर उठाइएको छैन। गर्मी यामको समयमा एक हप्तासम्म पनि फोहर नउठ्दा सदरमुकाम क्षेत्र कुरुप बनेको छ। 

डम्पिङ साइट नहुँदा बजारमा हिँडडुल गर्ने मान्छेलाई मुख छोप्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय सजन तामाङले बताए।  एक हप्ताभित्र फोहरको व्यवस्थापन नगरे नगरपालिकाको  सेवा बन्द गर्ने स्थानीय तेजबहादुर भण्डारीले बताए। उनले भने ‘सात दिनसम्म फोहर नउठाए नगरपालिकामा ताला लगाउनेछौं।’

नगरपालिकाले फोहर व्यवस्थापनका लागि पहल गरे पनि स्थायी रूपमा संरचना तयार गर्न सकेको छैन। नगरप्रमुख डिल्लीराज जोशीका अनुसार दिर्घकालीन रूपमा फोहर व्यवस्थापनका लागि नयाँ नीति लिएर ग्रिन सिटीको रुपमा विकास गरिने छ। साथै दुई तिन ओटा स्थानमा डम्पिङ साइटका लागि जग्गा हेर्ने काम भएकाले एक हप्ताभित्र फोहर व्यवस्थापन हुने उनले बताए।   

कमेन्ट लोड गर्नुस