‘सरकारले निर्मला पन्तको हत्यारालाई लुकाएर राखेको छ’
धनगढी: सरकारले निर्मला पन्तको हत्यारालाई लुकाएर राखेको नेकपा एमालेका सांसद नरबहादुर धामीले आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् धामीले कांग्रेस सरकारमा हुँदा पनि बलात्कार पनि हत्या गरिएकी निर्मालाका हत्यारामाथि किन कारबाही नगरिएको भनेर महेन्द्रनगरका जनताले प्रश्न गरिरहेको उनले बताएका हुन्। सरकारले प्रतिनिधिसभामा पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारमाथि निर्मालाका हत्यारा लुकाएर राखेको आरोप लगाएका हुन्।
‘निर्मला पन्तको हत्यारा पत्ता लाग्यो। र, यही सदनमा छ। भीआईपी हत्यारा हो। यो सरकार किन कारबाही गर्दैन भनेर नेपाली कांग्रेस जुन बेला विपक्षमा उभिएको थियो त्यो बेला यही रोस्ट्रममा कति पटक बोलेको थियो,’ धामीले भने, ‘आज शेरबहादुर देउवा आफैँ प्रधानमन्त्री हुनुहुन्छ। आज कहाँ राख्नुभएको छ त्यो भीआईपी हत्यारा? किन लुकाएर राख्नुभएको छ? त्यहाँका जनता सोधिरहेका छन्। महेन्द्रनगरका जनता सोधिरहेका छन्।’