सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेजको बोर्ड बैठक सकियो, तत्काल ‘मोडालिटी’ टुंगो लगाउन आग्रह

२०७९ जेठ १२, ०६:३३ खबर संवाददाता

धनगढी : कैलालीको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिको बैठक सम्पन्न भएको छ। समितिका कार्यवाहक अध्यक्षसमेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षमा बसेको बैठकले सरकारलाई सञ्चालनको प्रारुप तत्काल तय गर्न लेखेर पठाउने निर्णय गरेको छ। 

मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार बैठकले शिक्षा मन्त्रालयलाई तत्काल प्रारुप तय गर्न लेखेर पठाउने निर्णय गरेको हो। ‘अहिले व्यापक रुपमा जनदबाब पनि सृजना भइरहेको छ,’ पुजाराले भने, ‘कानूनी प्रक्रिया टुंगो लगाएर मोडालिटी तय गर्न शुक्रबार शिक्षा मन्त्रालयलाई लिखित रुपमा आग्रह गर्नेछौ।’

गेटामा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार तयार गरिएको छ। तर सरकारले अहिलेसम्म सञ्चालनको प्रारुप भने टुंगो लगाएको छैन। मेडिकल कलेजको कार्ययोजनाले २०७७ सालदेखि अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको थियो।

तर, अहिलेसम्म पनि कुनै विश्वविद्यालयको सम्बन्धनमा वा छुट्टै प्रतिष्ठानको रूपमा सञ्चालन गर्ने भन्ने निक्र्यौल भएको छैन। ०६६ मा तत्कालीन सरकारले गेटा मेडिकल कलेज निर्माणको घोषणा गर्दै बजेट विनियोजन गरेको थियो। तर, वातावरणीय प्रभाव मूल्यांकन अध्ययन र रूख कटान आदेशमा ढिलाइ हुँदा ०७३ पछि मात्रै पूर्वाधार निर्माणले गति लिएको हो। 

गेटामा रहेको साढे ५१ हेक्टर क्षेत्रमा निर्माण गरिएको प्रस्तावित मेडिकल कलेजमा चिकित्सा शिक्षाको अध्यापनसंगै ६ सय शय्याको अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य छ। तर सञ्चालनको प्रारुप तय नहुँदा अन्योल बढेको छ।

शिक्षा मन्त्रालयले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान स्थापना गरी पाँच सरकारी मेडिकल कलेज त्यसअन्तर्गत रहने एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा वर्षाैदेखि थन्किएको छ।

स्थापनाको तयारी भइरहेका गेटासहित पाँच मेडिकल कलेज र भविष्यमा स्थापना हुने सरकारी मेडिकल कलेजसमेत प्रतिष्ठानमातहतमा रहने व्यवस्था विधेयकमा गरिएको छ।

कमेन्ट लोड गर्नुस