सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोहरबाट मोहर बनाउँदै सेती अस्पताल

२०७९ जेठ १२, ०६:२४ नारायण अवस्थी

धनगढी: अस्पताल भन्ने बित्तिकै तपाईंलाई कस्तो अनुभूति हुन्छ ? बिरामी छटपटाएको, ह्वास्स गन्हाउने परिसर र वार्डहरू, यत्रतत्र अस्पतालबाट उत्पादन हुने फोहर र मैलो भुइँ र भित्ताहरू। तर सेती अस्पतालको विषयमा पनि यदि यस्तै सोच्दै हुनुहुन्छ भने तपाईं गलत साबित हुनुहुनेछ। 

सुदूरपश्चिमकै रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालका सबै वार्ड र बाहिरी क्षेत्र अचेल सफा र चिटिक्क देखिन्छन्। यो कसरी सम्भव भयो त ? भन्ने प्रश्नमा अस्पतालका फोहरमैला व्यवस्थापन क्षेत्र संयोजक महेश बिसीले स्रोतमा नै फोहर व्यवस्थापन गर्दा सम्भव भएको जबाफ दिए।

‘हामीले अस्पतालको सबै वार्डमा फोहरको किसिम अनुसार अलग–अलग छुट्याउने र कन्टेनरमा राख्ने गरेका छौँ’ उनले भने, ‘अस्पतालबाट निस्कने फोहरलाई किसिमअनुसार अलग्याएर निर्मुलीकरण गर्ने, पुनः प्रयोग र पुनः उत्पादन गर्न मिल्ने बस्तुलाई बिक्री गर्ने र अन्य बस्तुलाई डम्पिङ गर्न जिम्मा लगाउने गरिएको छ।’ उनले त्यही कारण फोहर व्यवस्थापन सहज भएको र अस्पताल पनि सफा भएको बताएका छन्।  

अस्पतालमा फोहरमैला उत्पादन हुने ठाउँमा नै फोहरको किसिम अनुसार छुट्याउएर राख्ने गरिएको छ। स्रोतमै फोहर अलग्याएपछि निर्मुलीकरण गर्नुपर्ने फोहरलाई अटोक्लेभमा निर्मुलीकरण गरेर अलग्गै भण्डार गर्ने गरिएको छ।

किटाणुजन्य फोहरलाई किटाणुरहित बनाएर मात्रै डम्पिङ गर्ने गरिएको छ भने सिलिन्ज, बोतल, पोलिथिन जस्ता रिसाइकल गर्न मिल्ने बस्तुलाई बिक्रि गर्ने गरिएको छ। अस्पताल परिसरमा जिआइजेट नामक गैर सरकारी संस्थाको सहयोगमा निर्माण भएको अटोक्लेभ हाउसमा अस्पतालबाट उत्पादन हुने सबै फोहरलाई किटाणुरहित बनाउने गरिएको अस्पतालका नर्सिङ इन्चार्ज एवं फोहर व्यवस्थापन फोकल पर्सन शान्ति बुडालले बताइन्। 

‘सेती अस्पतालमा पहिलाको जस्तो फोहर व्यवस्थापनको समस्या छैन’ उनले भनिन्, ‘हामीले अहिले फोहर व्यवस्थापनको उपयुक्त तरिका अपनाएर फोहरलाई मोहरमा रुपान्तरण गर्न सफल भएका छौँ।’

कुनै बेला फोहर व्यवस्थापन गर्न निकै समस्या हुने गरेको बताउने अस्पताल प्रशासन अहिले फोहरबाट मासिक ३० हजार बढी आम्दानी भइरहेको बताउँछ।  अहिले सेती अस्पताल परिसरमा न फोहरको डङ्गुर देख्न सकिन्छ न त फोहर जलाउने गरिएको छ। अस्पतालले फोहरजन्य बस्तु बिक्री गरेर आम्दानी गरिरहेको अस्पतालका सरसफाइ सुपरभाइजर ज्ञानु कुँवरको भनाइ छ।

‘पहिलेको भन्दा अहिले सेती प्रादेशिक अस्पतालमा फोहर व्यवस्थापनमा निकै राम्रो काम भएको छ’ उनले भने, ‘पहिले बिरामी उपचार गर्न आउँदा फोहर छ भनेर भन्थे भने अहिलो त्यस्तो गुनासो सुन्नुपरेको छैन। हामीले पुसदेखि फोहर बेचेर आम्दानी गर्न थालेका छौँ।’

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस