सुदूर नेपाललाई विश्वसँग जोड्दै

जलेका बिरामीलाई जहाजले बोक्छ कि नाईं ? हिजो धनगढी विमानस्थलमा लोकसरीसँग जे भयो 

२०७९ जेठ १२, ११:५५ आशिष मल्ल

धनगढी: बाजुराकी लोकसरी कुँवरको शरीर आगोले जलेको छ। जेठ ३ गते घरमा काम गर्ने क्रममा जलेकी उनलाई अछामको बयलपाटा अस्पताल पुगाइएको थियो।

बुढीगंगा नगरपालिका–१० की २३ वर्षीया उनी निम्न आयस्तर भएको परिवारकी सदस्य हुन्। सोही कारण बयलपाटाले रेफर गर्दा पनि उनी पैसाको अभावमा केही दिन बेडमै थन्किएकी थिइन्। काठमाडौं लग्न उनका श्रीमान एकेन्द्र कुँवरसँग रकम नभएपछि बाजुराका पत्रकार प्रकाश सिंहले उपचारका लागि सहयोग गर्ने संस्थासँग सहकार्य गरिदिएका थिए। 

पाटन अस्पतालमा एक संस्थाले उपचार गरिदिने भनेपछि एकेन्द्रले बुधवार उनलाई जहाजबाट लग्ने निधो गरे। त्यसका लागि उनीहरु बुधवार बिहान नै कैलालीको धनगढी विमानस्थलल पुगे। बुद्ध एयरको जहाजको साँझ ७ बजेर २५ मिनेटको टिकट काटिएपछि उनीहरु ६ बजे नै विमानस्थल पुगिसकेका थिए। उक्त टिकट बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले काटिदिएका थिए।

तर विमानस्थल कर्मचारीले भने आगोले पोलिएकी लोकसरीलाई अवलोकन गरेर मात्रै जहाजमा बसाउने बताए। ‘विमानस्थलका कर्मचारीले बिरामीलाई अवलोकन गरेपछि मात्रै जहाजमा बसाइने बताएपछि बिरामीलाई ह्विल चेयरमा राखियो तर विमान डिले भयो’ स्वास्थ्य संयोजक शाहले भने, ‘बिरामीले करिब २ घण्टा कुर्नुपर्ने भएपछि उनलाई अलि असहज भएको थियो। विरामीको नितम्बमा समेत पोलिएकाले उनी समय–समयमा मिलाएर बसिरहेकी थिइन्। त्यही देखेर विमानस्थलले तपाईंको विरामीलाई लग्न मिल्दैन भन्यो।’ उनका अनुसार जहाज ढिलो भएकाले राति ९ बजे मात्रै विमानस्थलमा ल्यान्ड गरेको थियो।    

आफूहरुले धेरै अनुरोध गरेपछि विमानस्थलले बुद्ध एयरका पाइलटलाई सोध्ने बताएको शाहले सुनाए। तर पाइलटले समेत बिरामीलाई नलग्ने भनेपछि आफूहरु राति १० बजे विमानस्थलबाट फर्र्किएको शाह बताउँछन्। ‘बिरामीलाई हेर्ने चिकित्सकले समेत जहाजबाट काठमाडौं जाँदा हुन्छ भनेको छ। बिरामी आफै पनि ढेड घण्टा बस्न सक्छु भनिरहेकी थिइन् तर पनि जहाजमा बसाइएन’ स्वास्थ्य संयोजक दिपक शाहले भने, ‘हारगुहार गर्दा पनि नमानेपछि एम्बुलेन्सबाट काठमाडौं पठायौं।’

उक्त विषयमा बाजुराका पत्रकार प्रकाश सिंह निजी एयरलाइन्सले दादागिरी गर्ने बताउँछन्। ‘कस्तो अचम्म ! बिरामी, अशक्त र इमर्जेन्सी उपचार गर्ने खालका मानिसलाई नलाने रहेछ। यो प्राइभेट सेवाको दादागिरी हो वा के हो ? एयरपोर्टमा कुराएर अन्तिममा नलिनु भनेको मानवता पनि नभएको हो’ उनले भने।

 स्टेचर मागाउनुपर्ने थियो, उहाँहरुले नर्मल टिकट काट्नुभयोः बुद्ध एयर 
यस विषयमा काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलका एक कर्मचारी बिरामीको अवस्था हेरेर जहाजमा बसाउन सकिने बताउँछन्।  उनले बस्न नसक्ने बिरामीका लागि स्टेचरको व्यवस्थापन समेत हुने बताए। तर त्यसका लागि भने पहिले जानकारी गराउनुपर्ने उनी बताउँछन्। 

बुद्ध एयर धनगढीका व्यवस्थापक बुद्धराम चौधरी पनि पहिले जानकारी गराएमा स्टेचर उपलब्ध हुने बताउँछन्। ‘ती बिरामी ह्विल चेयरमा बस्न नसक्ने अवस्था थिइन् अनि कसरी माथि डेढ घण्टा बस्न सक्थिन्। दिउँसै खबर गरेर स्टेचर चाहियो भनेको भए उहाँलाई लग्न सकिन्थ्यो तर उहाँहरुले नर्मल टिकट काट्नुभयो’ उनले भने।

उनका अनुसार जानकारी गराएमा ६ टिकेट काटेर जुनसुकै बिरामीलाई स्टेचर राखेर जहाजबाट लग्न सकिन्छ। ‘त्यहि फ्लाइटमा हामीले ढाड भाचिएको बिरामीलाई स्टेचरबाट पठाएका छौं तर ती महिला बस्न नसक्ने भएपछि लग्न असमर्थ भयौं’ व्यवस्थापक चौधरी भने। 


 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस