सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालयमा भएको गोली प्रहारमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

२०७९ जेठ १२, ०६:०९ खबर संवाददाता

अमेरिकाको टेक्सस राज्यमा रहेको एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा ज्यान गुमाउनेको सङ्ख्या २१ जना पुगेको छ। गोली प्रहारबाट कम्तीमा १९ जना बालबालिका र द जना वयस्क गरी २१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। 

गोली प्रहार भएको विद्यालयमा सातदेखि दश वर्ष उमेर समूहका बालबालिका अध्ययन गर्छन्। 

रब एलिमेन्ट्री स्कुलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानेको टेक्सस राज्यका गभर्नर ग्रेग याबटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। 

विद्यालयमा झन्डै पाँच सय जना बालबालिका रहेका र ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने राज्य सरकारले जनाएको छ।

विद्यालयमा जथाभाबी गोली चलाउनुको कारण खुलेको छैन। विद्यालयमा गोली चलेको थाहा पाएपछि नजिकै रहेका एक सीमा रक्षकले विद्यालयमा गएर आक्रमणकारीलाई मारिदिएका स्थानीय प्रहरीले जनाएको छ। 

राष्ट्रपति जो बाइडेनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिए।

ह्वाइट हाउसबाट गरिएको सम्बोधनमा बाइडेनले बन्दुक नियन्त्रणका लागि आह्वान गर्दै धेरै मानिस प्रभावित हुने गरी हुने गोली प्रहारका घटनाका कारण आफू दिक्क भएको बताए।

अमेरिकामा यो वर्ष मात्रै समूहमा गोली प्रहार भएका २६ वटा घटना भएका छन्। दश दिनअघि मात्रै न्युयोर्क राज्यमा भएको आक्रमणका १० जनाको ज्यान गएको थियो। 
 

कमेन्ट लोड गर्नुस