सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगंगामा तोकिए निर्वाचन अधिकृत, मतदान र मत गणना विवादको निर्णय अझै भएन

२०७९ जेठ ११, ०९:३४ खबर संवाददाता

धनगढी: बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ। जिल्ला अदालत बाजुराका श्रेस्तेदार पुष्पराज पाण्डेलाई निर्वाचन अधिकृत तोकिएको बताइएको छ।

नगरपालिकामा मतदान कि मत गणना गर्ने भन्ने विषयमा छलफल भइरहेको आयोगले जनाएको छ। स्थलगत अध्ययन प्रतिवेदनको अध्ययनपछि उक्त विषयमा प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्तहरूको बैठकले निर्णय गर्ने बाजुराका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए।

मतदानका विषयमा विवाद भएपछि आयोगका आयुक्त सगुनसमशेर राणा संयोजकत्वको टोली बुढीगंगा पुगेको थियो। टोलीले नगरपालिकाको स्थलगत अध्ययन प्रतिवेदन आयोगलाई बुझाइसकेको छ। 

नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत हालेको आरोप लगाउँदै नेपाली काँग्रेसले फेरि मतदान गरिनुपर्ने माग गरेको छ। एमाले भने कुनै पनि मतदान केन्द्रमा धाँधली र बुथ कब्जा नभएकाले मतगणना हुनुपर्ने पक्षमा छ।

कमेन्ट लोड गर्नुस