‘मंकिपक्स’ भाइरस फैलिने डर, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह
काठमाडौं : मंकिपक्स संक्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य मन्त्रालय विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १४ वटा देशमा यो संक्रमण देखिएको छ। विश्वमा मंकिपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन र स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो।
डब्ल्यूएचओले यसअघि कुनै पनि देशको नाम नलिईकन मङ्कीपक्सका अरू सन्दिग्ध सङ्क्रमणबारे अध्ययन गरिरहेको र थप मानिसमा सङ्क्रमण पुष्टि हुन सक्ने बताएको थियो। यूकेमा पहिलो पटक मङ्कीपक्सका बिरामी भेटिएपछि युरोपका अन्य देशमा पनि उक्त रोग पुष्टि भएको थियो।
स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्वीडनले शनिवारसम्म यो सङ्क्रमण पुष्टि गरेका थिए। मङ्कीपक्स आइतवार अस्ट्रिया र स्विट्जरल्यान्डमा पनि पुष्टि भएको थियो। यूकेमा अहिलेसम्म २० जनामा उक्त भाइरसले सङ्क्रमण गराएको पुष्टि भएको छ।
लक्षणहरू के हुन्
सङ्क्रमणका प्रारम्भिक लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु पर्छन्। एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ।
त्यस्ता डाबरहरू अत्यन्तै चिलाउने हुनसक्छन्। डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ। सङ्क्रमणका कारण भएको घाउ १४ देखि २१ दिनसम्म रहन्छ र सामान्यतया आफैँ हराउँछ।