रेशमपत्नी रञ्जिता भन्छिन्, ‘कैलालीबाट संसदीय चुनाव लड्छु’
धनगढीः नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ (चौधरी) ले कैलालीबाट संसदीय चुनाव लड्ने बताएकी छन्। दिनेशखबरसँग संक्षिप्त संवाद गर्दै श्रेष्ठले आफू कैलाली क्षेत्रनम्बर-१ बाट संसदीय चुनाव लड्ने बताएकी हुन्।
‘स्थानीय तहको निर्वाचनमा हामी सफल भएका छौं’, उनले भनिन्, ‘हाम्रो पार्टी दर्ता भएको छोटो समयमै पनि हामीले स्थानीय तहको निर्वाचनका लागि धेरै मिहेनत गर्यौ। हामी र हाम्रो पार्टीका लागि छोटो समयमै निर्वाचनमा होमिनु चुनौतीको विषय थियो। त्यसका बाबजुत पनि हामीले राम्रै परिणाम ल्याएका छौ। जनताले हामीलाई विश्वास गरे। यो हाम्रो उपलब्धी हो।’
यस्तै उनले संसदीय चुनावको तयारी र उम्मेदवारीबारे आफूले कैलालीको क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दिने बताएकी छन्। ‘हामीले संसदीय चुनावको तयारी थालेका छौ’, उनले भनिन्, ‘स्थानीय तहको चुनाव सकिए लगत्तै हामी त्यसमा लागिसकेका छौ। हामीले जतिसक्दो होमवर्क गर्नुपर्ने छ।’ रन्जिता रेशम चौधरीकी पत्नी हुन्। उनले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व गरिरहेकी छन्।
कैलालीमा स्थानीय तह निर्वाचनमा रेशमको नागरिक उन्मुक्ति पार्टी पहिलो बनेको छ। केलालीका १३ स्थानीय तहमध्ये नागरिक उन्मुक्ति पार्टीले गठबन्धन र एमालेलाई समेत पराजित गर्दै चार पालिका जितेको छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारलाई रेशमले दोब्बर मतले हराएका थिए। तर, उनी अहिले कारागारमा छन्। २०७२ भदौ ७ गते टीकापुर घटनामा दोषी ठहरिएपछि उनी कारागार चलान भएका थिए। उनले कारागारबाटै नागरिक उन्मुक्ति पार्टी खोलेका थिए।
जेलबाटै खोलिएको पार्टीले अहिले उनको निर्वाचन क्षेत्रका स्थानीय तहमा एकलौटी जित हासिल गर्न सफल भएको हो। निर्वाचन आयोगमा दर्ता भएको पाँच महिना नपुग्दै कैलालीमा ठूलो शक्तिका रूपमा उदाएको पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभामा पनि धेरै सिट जित्ने दाबी गरेको छ। उनको पार्टीले रेशमलगायत बन्दीहरूको रिहाइका लागि पहल पनि गर्ने बताएको छ।