सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठन आदेश मन्त्रीपरिषद्बाट पारित भएपनि सुदूरपश्चिमका सबै अस्पतालहरु विकास समिति विहिन

२०७५ फाल्गुन १, ०७:०५ नवराज पनेरु

गठन आदेश मन्त्रीपरिषद्बाट पारित भएपनि सुदूरपश्चिमभरीका अस्पतालहरु झण्डै ७ महिनादेखि विकास समिति विहिन भएका छन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल व्यवस्थापन गठन आदेशको स्वीकृतीका लागि मन्त्रीपरिषदमा फाईल पठाएपछि मन्त्री परिषद्को पौष १८ गतेको निर्णयले गठन आदेश पारित गरेको छ। अस्पताल विकास समिती गठन आदेश २०१३ खारेज भएपछि सुदूरपश्चिमका अस्पतालहरु जेठदेखि नै विकास सिमती विहिन छन्।

गठन आदेश स्वीकृती भएपछि अव राजपत्रमा सुचना प्रकाशनको तयारी भएको सामाजिक विकास मन्त्रालयका सचिव गोगन वहादुर हमालले बताए। उनले १५ शैयामाथिका सवै अस्पतालमा विकास समिती गठन गर्ने तयारी भईरहेको जानकारी दिए। मालाखेती अस्पताल कैलाली, जोगबुडा अस्पताल डडेल्धुरा, गोकूलेश्वर अस्पताल दार्चुलालाई प्रदेश सरकारले १५ शैयाबाट २५ सैयाको अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी कञ्चनपुरलाई २५ सैयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरिसकेको छ। सुदूरपश्चिम प्रदेशमा अव १५ शैया भन्दा माथिका एक उप क्षेत्रीय, २ अञ्चल, ६ जिल्ला र अन्य ५ वटा गरि १४ वटा अस्पताल रहेका छन्।

तर गठन आदेशमा केहि संसोधन गर्नुपर्ने भएकाले विकास समिति गठनमा झण्डै एक महिना लाग्ने सामाजिक विकास मन्त्रालयका सचिव हमालले बताए। उनले राजनीतिक नियुक्तीमा विकास समिति गठन गरिने भएपनि स्वास्थ्य क्षेत्रका एक जना विज्ञलाई पनि समितिमा राख्न गरि गठन आदेश संसोधन हुने बताए। विकास समितीको अभावमा दीर्घकालिन र अल्पकालिन योजनाहरु बनाउन समस्या भएको अस्पतालहरुले बताएका छन्। अस्पताल विकास समितीहरुलाई अस्पतालको व्यवस्थापन र संचालन गर्ने, अस्पताल व्यवस्थापनको लागि दीर्घकालिन तथा अल्पकालिन योजना तर्जुमा गर्ने गराउने, आवश्यक साधन र श्रोत जुटाउने, अस्पतालको बजेट स्वीकृत गर्ने, अस्पतालको सेवा शुल्क निर्धारण गर्ने, भौतिक सम्पत्तिको संरक्षण तथा मर्मत सम्भार गर्ने लगायतका अधिकार दिईएको हुन्छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस